काठमाडौं । आप्रवासीमाथि गरिएको धरपकडको विरोधमा अमेरिकको क्यालिफोर्निया राज्यको लस एन्जलसमा सोमबार चौथो दिन पनि प्रदर्शन जारी छ । सयौं प्रदर्शनकारीहरूले आप्रवासी राखिएको केन्द्र अगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।
उनीहरूले सबैलाई मुक्त गर भन्दै नाराबाजी गरेका थिए । प्रदर्शन स्थल वरपर प्रहरी र नेशनल गार्डले सुरक्षा घेरा कायम गरेका थिए । दक्षिण क्यालिफोर्नियामा भएको आप्रवासन छापामारीपछि सुरू भएको विरोध प्रदर्शन व्यापक बन्दै गएको छ ।
प्रदर्शन चर्कँदै गएपछि राष्ट्रपति डनल्ड ट्रम्पले शनिबारदेखि सो क्षेत्रमा नेशनल गार्ड तैनाथ गर्नुभएको छ । सोमबार ट्रम्पले सार्वजनिक सम्पत्ति र कर्मचारीहरूको सुरक्षाका लागि थप दुई हजार नेशनल गार्ड लस एन्जलसमा पठाउने घोषणा गर्नुभएको हाे ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले यस कदमको विरोध गर्दै संघीय सरकारविरूद्ध मुद्दा दायर गर्नुभएको छ । क्यालिफोर्निया राज्यले ट्रम्प प्रशासनद्वारा गरिएको यो फौजी परिचालनलाई राज्यको सार्वभौमिकता र संघीय कानुनको उल्लंघन भनेको छ ।
प्रारम्भिक धरपकडपछि बढ्दै गएको तनावले प्रदर्शनहरू केही हिंसात्मकसमेत बनेका छन् । ट्रम्प प्रशासनले फौज परिचालनलाई उचित ठहर गर्दै हिंसालाई नियन्त्रणमा ल्याउन यो कदम आवश्यक भएको बताएको छ । तर, डेमोक्रर्याट नेताहरूले यसलाई राष्ट्रपतिको अधिकारको दुरूपयोग र शान्तिपूर्ण प्रदर्शनकारीमाथि सैन्य बल प्रयोगको रूपमा आलोचना गरेका छन् ।
स्थिति अझै अस्थिर रहेको लस एन्जलसमा संघीय कदमको वैधता र प्रभावबारे उठेका प्रश्नहरूले आप्रवासन नियन्त्रण र नागरिक अधिकारबारेको राष्ट्रिय बहसलाई थप उग्र बनाएको छ।