काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भएको तनावपूर्ण वार्ताको विषयलाई विश्वका सञ्चारमाध्यमहरूले प्रमुख स्थान दिए । युरोपमा यो घटना अमेरिका र युक्रेनबीच सम्बन्ध अन्त्यको सुरूआत भएको टिप्पणी गरिएको छ भने कतिपयले ट्रम्प क्रेमलिनद्वारा परिचालित भएको आरोप लगाए । के भने त विश्वका सञ्चारमाध्यमहरूले यो घटनालाई ?
बेलायती प्रत्रिका दि टेलिग्राफले ट्रम्पको भनाइ उद्धृत गर्दै ‘मेक अ डिल अर वि आर आउट’ अर्थात् ‘सम्झौता गर नत्र हामी बाहिरिन्छौं’ भन्ने शीर्षक सहितको समाचार छापेको छ । जसमा विवादित वार्ताले भविष्यमा युरोपको सुरक्षामाथि नै प्रश्न उठेको टिप्पणी गरिएको छ ।
यस्तै फ्रान्सेली पत्रिका ले मोन्डेले विवादित वार्ता अमेरिका र युक्रेनबीचको सम्बन्ध अन्त्यको सुरूआत भएको विश्लेषण गरेको छ । साथै अमेरिकी कदमपछि रूस विरुद्धको लडाइँमा युक्रेन र युरोप एक्लो भएको उल्लेख गर्दै पत्रिकाले ट्रम्प क्रेमलिनबाट परिचालित रहेको स्पष्ट देखिएको जनाएको छ । यस्तै, जर्मनीको पत्रिका फ्रान्सकर्टर एल्गीमेनले ट्रम्पसँग युक्रेनको सम्बन्ध समाप्त भएको शीर्षकमा समाचार प्रकाशन गरेको छ, जसमा विवादित वार्ता युक्रेनका लागि ‘टर्निङ प्वाइट’ रहेको उल्लेख गरेको छ ।
इटलीको पत्रिका कोरग्यारा डेला सेरा र स्पेनको इल पाइस पत्रिकाले ट्रम्पले जेलेस्कीलाई अपमान गरेको र कूटनीतिक इतिहासमै यस्तो घटना पहिलो पटक भएको उल्लेख गरेका छन् । ग्रीसको प्रोटो थिमाले ट्रम्पले जेलेन्स्कीमाथि गरेको शाब्दिक प्रहारले विश्व नै स्तब्ध भएको उल्लेख गरेको छ । यस्तै बेलायतको दि इन्डिपेन्डेन्टले ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीमाथि ओभल अफिसमा एम्बुस विस्फोट गराएको उल्लेख गरेको छ ।
भारतको नवभारत टाइम्सले एक लेख मार्फत् अमेरिकाले सहयोगी देशहरूसँगको सम्बन्धलाई बिगार्न विध्वंशक बलको प्रयोग गरेको र यसले चीनलाई नै सहयोग पु्ग्ने टिप्पणी गरेको छ । अमेरिकी मिडियाले भने वार्ताअघि नै दुई नेताबीच विवाद सुरू भएको टिप्पणी गरेका छन् ।
वाशिङगटन पोस्टले यो प्रकरणमा ओभल अफिसकै गल्ती रहेको टिप्पणी गरेको छ भने न्यूयोर्क टाइम्सले जेलेन्स्कीप्रति सहानभूति व्यक्त गरेको छ । युक्रेनी मिडियाले भने शनिबार नै सम्पादकीय मार्फत् ट्रम्पले जेलेन्स्कीलाई नभई आफ्नो मुलुकको राष्ट्रपतिलाई अपमान गरेको टिप्पणी गरेका छन् ।