फ्रान्ससँग मिलेर रूस-युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने बेलायती प्रधानमन्त्री स्टार्मरको भनाइ

फाल्गुन १८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
फ्रान्ससँग मिलेर रूस-युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने बेलायती प्रधानमन्त्री स्टार्मरको भनाइ

काठमाडौं । बेलायती प्रधानमन्त्री केइर स्टार्मरले फ्रान्ससँग मिलेर युक्रेन युद्धविराम सम्बन्धी प्रस्ताव तयार पारिने बताउनुभएको छ । युक्रेन युद्धबारे लन्डनमा आयोजना गरिने युरोप तथा क्यानडाका नेताहरूको बैठकअघि स्टार्मरले फ्रान्ससँग संयुक्त रूपमा काम गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । 

उक्त प्रस्तावलाई अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प समक्ष राख्ने समेत उहाँले स्पष्ट पार्नुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, ट्रम्प र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँग यसबारे छलफल गरिसकेको उहाँको भनाइ छ ।

ह्वाइट हाउसको ओभल अफिसमा भएको विवादित वार्तापछि युक्रेन युद्धबारे छलफल गर्न र युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन बेलायती प्रधानमन्त्री स्टार्मरले युरोपेली मुलुक तथा क्यानडाका नेताहरूको बैठक बोलाउनुभएको छ । उक्त बैठकमा इटाली, फ्रान्स, जर्मनी र क्यानडाका राष्ट्रप्रमुख सहभागी हुनेछन् भने नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक रिपब्लिक र रोमानियाका नेता समेत सहभागी हुने बताइएको छ । 

सोही बैठकमा सहभागी हुन हिजो जेलेन्स्की बेलायत पुग्नुभएको थियो भने बेलायती प्रधानमन्त्रीसँग समेत उहाँले भेटवार्ता गर्नुभएको थियो ।

उक्त भेटपछि बेलायत र युक्रेनबीच २.२६ अर्ब पाउन्डको ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। युक्रेनले उक्त रकम सैन्य उपकरण खरिदमा प्रयोग गर्नेछ भने पश्चिमा मुलुकले जफत गरेका रूसी सम्पत्ति बिक्रीबाट युक्रेनले उक्त ऋण तिर्नेछ ।



Enter Kantipur TV HD
Advertisement