सञ्जालबाटै प्रतिवाद र प्रतिरक्षा, समाधानतर्फ देखिँदैन इच्छा

मेयर अधिकृत माग्ने, प्रतिवेदन लुकाउने
फाल्गुन १८, २०८१ |कृपाल गौतम
सञ्जालबाटै प्रतिवाद र प्रतिरक्षा, समाधानतर्फ देखिँदैन इच्छा

काठमाडौं । सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएको आक्रोशमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले लेखेको फेसबुक स्टेटस अहिले चर्चामा छ । शाहले प्रधानमन्त्रीलक्षित गर्दै दिएको अभिव्यक्ति विरुद्ध महानगर उपप्रमुख सुनिता डंगोल र एमाले महासचिव शंकर पोखरेल बचाउमा उत्रिए । तर, सामाजिक सञ्जालबाट प्रमुख शाहले आक्रोश पोख्ने र एमाले नेताहरूले बचाउ गर्ने बाहेक यो समस्या समाधान अझै हुन सकेको छैन । न त, प्रमुख शाहले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न आफैंले गठन गरेको समितिको प्रतिवेदन नै सार्वजनिक गर्नुभएको छ ।

आफ्ना कुरा भन्न औपचारिक प्रेस वक्तव्य वा पत्रकार सम्मेलनभन्दा सामाजिक सञ्जाल प्रयोग गर्न रुचाउने महानगर प्रमुख शाहले दलहरू लक्षित भनाइ वा प्रतिक्रिया राख्दा त्यसमा पक्ष विपक्षमा निकै बहस हुने गर्छ । अहिले यस्तै एउटा विषयले सामाजिक सञ्जाल तात्तिएको छ । मेयर शाहले आइतबार अपराह्न राखेको एक फेसबुक स्टेटस आइतबार अपराह्नसम्ममा झन्डै ४ लाखले लाइक गरेका छन् भने ४१ हजारभन्दा बढी कमेन्टस र १२ हजार शेयर भएका छन् । 

मेयर शाहले राख्ने फेसबुक स्टेटस र यसमा प्रयोग हुने भाषा बेला बेलामा विवादित पनि हुने गरेको छ । यसपटक पनि मेयर शाहले लेख्नुभयो - 'प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ । हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे । मलाई हराउने ताकमा, देशलाई चैं नडुबाउनुहोला ।' 

यो स्टेटसमा व्यङ्ग्यपूर्ण आक्रोश देखिन्छ ।

देशका प्रधानमन्त्रीलाई काठमाडौं महानगरका मेयरले सजिलै भेट्न सक्छन् र आफ्ना कुरा राख्न तथा समस्याको समाधान सजिलै खोज्न सक्छन् । तर उहाँले त्यो बाटो अपनाउनु भएन । सरकारले पनि त्यतातर्फ चासो दिएन ।

मेयरले फेसबुक स्टेटस लेख्नुभयो अनि नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काउनु भयो । यसले समस्याको समाधान त भएन मात्र तिक्तता बढ्यो र सामाजिक सञ्जालमा लाइक र कमेन्टको बाढी आयो ।

मेयर शाहले प्रधानमन्त्रीमाथि गरेको व्यङ्ग्यपूर्ण आक्रोशको मुख्य कारण थियो- आफूले माग गरे अनुसार सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउनु । 

उहाँले फेसबुकमा लेखेको कुरामा एमाले महासचिव शंकर पोखरेलले सोही दिन र एमालेबाट निर्वाचित उपप्रमुख सुनीता डंगोलले भोलिपल्ट प्रधानमन्त्रीको प्रतिरक्षामा उत्रिनुभयो । महासचिव पोखरेलले फेसबुकबाटै जवाफ दिनुभयो भने उपप्रमुख डंगोलले सार्वजनिक कार्यक्रमबाट । डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन लुकाएर दोष अन्तै थोपर्न खोज्नु उचित नभएको भन्दै प्रमुख शाहमााथि आरोप लगाउनुभयो । 

प्रमुख शाहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी नक्सा स्वीकृति गरेको आरोप लगाउँदै गुरागाईंमाथि छानबिनका लागि समिति बनाउनु भएको थियो । तर, प्रमुख शाहले उक्त प्रतिवेदन सार्वजनिक नगरेको आरोप उपप्रमुख डंगोलको छ । प्रमुखसँगको विवादपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिदामा बस्नु भएको छ भने प्रमुख शाहले नयाँ प्रशासकीय अधिकृत पठाउन सरकारलाई दबाब दिँदै आउनुभएको छ । 

तर, सरकारले आइतबारसम्म प्रशासकीय अधिकृत पठाएको छैन । प्रशासकीय अधिकृत नहुँदा महानगरका सम्पूर्ण कर्मचारीको तलब रोकिएको छ । 

शाहको स्टेटसको जवाफमा एमाले महासचिव शंकर पोखरेलले लेख्नुभएको छ- तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन । यसले प्रमुख प्रशासकीय अधिकृत महानगरमा किन जान मान्दैनन् भन्ने पाटोमा पनि प्रश्न सिर्जना गरेको छ । खटाएको ठाउँमा कर्मचारी जानु उसको कर्तव्य हो । यसैगरी खटाएका कर्मचारीले काम गरिरहेका छैनन् वा गलत काम गरिरहेका छन् भने छानबिन गरेर कारबाही पनि गर्न सकिन्छ । 

तर सामाजिक सञ्जालमा विषय उछालेर लाइक र कमेन्टलाई आधार मान्दै बस्ने तर समस्या समाधान गर्न पहल नगर्ने हो भने त्यसले केही अर्थ राख्दैन । अर्कोतर्फ सामाजिक सञ्जालमा विषय प्रवेश भयो भन्दैमा सामाजिक सञ्जालबाटै जवाफ फर्काएर मुद्दालाई व्यङ्ग्य र आक्रोशको विषय बनाउनुभन्दा जिम्मेवार निकाय र पदाधिकारी मार्फत समाधान खोज्नुपर्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement