लिबियामा फेला परेका दुई सामूहिक चिहानमा ४९ आप्रवासीका शव

माघ २८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
लिबियामा फेला परेका दुई सामूहिक चिहानमा ४९ आप्रवासीका शव

काठमाडौं । लिबियाको दक्षिणपूर्वी मरुभूमिमा छुट्टाछुट्टै स्थानमा दुई सामूहिक चिहान फेला परेका छन् । फेला परेका दुई सामूहिक चिहानमा ४९ शव फेला परेको अल जजीराले जनाएको छ । ती सबै आप्रवासी रहेको बताइएको छ ।

लिबियाको सुरक्षा निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै दक्षिणपूर्वी शहर कुफ्राको एक फार्ममा १९ शव फेला परेको बताएको छ । तीमध्ये केही शवलाई पोस्टमार्टमका लागि लगिएको बताइएको छ ।

आप्रवासी हिरासत केन्द्रमा छापा मार्ने क्रममा दोस्रो सामूहिक चिहान पनि फेला परेको कुफ्राको सुरक्षा कक्षका प्रमुख मोहम्मद अल–फदेइलले बताएका छन् । दोस्रो चिहानमा ३० शव फेला परेका छन् । उक्त चिहानमा लगभग ७० जनालाई गाडिएको बाँचेकाहरूलाई उदृत गर्दै अधिकारीहरूले जनाएका छन् । थप शव पनि फेला पर्ने आशंकामा उक्त क्षेत्रमा अझै खोजी जारी राखिएको छ । 

पूर्वी र दक्षिणी लिबियामा आप्रवासी र शरणार्थीलाई मद्दत गर्ने परोपकारी संस्था अल–अब्रीनले सामूहिक चिहानमा भेटिएकामध्ये केहीलाई गाड्नुअघि गोली हानी मारिएको दाबी गरेको छ ।

लिबियालाई अफ्रिका र मध्यपूर्वबाट युरोप पुग्ने आप्रवासीहरूको मुख्य ट्रान्जिट बिन्दु मानिन्छ। गत वर्ष अधिकारीहरूले राजधानी त्रिपोलीको दक्षिणमा रहेको शुएरिफ क्षेत्रमा कम्तीमा ६५ आप्रवासीको शव फेला पारेका थिए ।



Enter Kantipur TV HD
Advertisement