काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै अर्को सूचना जारी नहुँदासम्मका लागि थप बन्धक रिहाइको कार्य स्थगन गर्ने घोषणा गरेको छ ।
इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दी रिहाइको बदलामा हमासले शनिबार थप तीन जना बन्धक मुक्त गर्ने पूर्वयोजना थियो । हमास सैन्य विभागका प्रवक्ता अबु ओबेइदाले एक विज्ञप्ती जारी गर्दै इजरायलले युद्धविराम सम्झौतामा उल्लेखित प्रतिबद्धताहरुको पूर्ण पालना नगरेसम्म बन्धक रिहाइको कार्य अघि नबढ्ने चेतावनी दिनुभएको हो । इजरायलले विस्थापित प्यालेस्टिनीलाई गाजाको उत्तरीभागमा फर्किन दिन ढिलाइ गरेको, घर फर्कंनेमाथि गोली चलाएको र गाजामा मानवीय सहायता सामग्री प्रवेश गर्न नदिएको हमासको आरोप छ ।
यसैबीच, इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासको उक्त घोषणा युद्धविराम सम्झौताको पूर्ण उल्लंघन भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ । उहाँले गाजामा सम्भावित कुनै पनि परिदृश्यका लागि उच्च सतर्कतामा रहनसमेत सेनालाई आदेश दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता फरहान हकले दुवै पक्षले सम्झौतामा उल्लेखित प्रतिबद्धता र समयरेखाको पालना गर्नुपर्ने भन्दै विकसित परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
जनवरी १९ देखि गाजा युद्धविराम सुरु भएयता हमासले आफ्नो नियन्त्रणमा रहेका १६ इजरायली र ५ थाई गरी २१ जना बन्धकलाई रिहा गरिसकेको छ भने इजरायलले पनि पाँच सय ६६ जना प्यालेस्टिनी कैदी बन्दीलाई रिहा गरेको छ ।
उता, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले गाजामा रहेका सबै बन्धक यही शनिवार दिउँसोसम्म मुक्त नभए इजरायल-हमास युद्धविराम रद्द गर्न प्रस्ताव गर्ने चेतावनी दिएको रोयटर्सले जनाएको छ । ट्रम्पले जोर्डन र इजिप्टले गाजाबाट स्थानान्तरण गरिने प्यालेस्टिनी शरणार्थीलाई लिन अस्वीकार गरे उनीहरुलाई अमेरिकाले दिँदै आएको सहायता रोक्न सक्ने चेतावनीसमेत दिनुभएको छ ।