काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले गत साता मुक्त गरेका पाँच जना थाई नागरिक आज बैंकक पुगेका छन् । आइतबार बिहान बैंककको सुवर्णभूमि विमानस्थलमा अवतरण गरेका उनीहरूले आफ्ना परिवारजनसँग अश्रुपूर्ण मिलाप गरेका थिए ।
हमासको नियन्त्रणमा करिब ५ सय दिन बिताएर उनीहरू सकुशल फर्किएका हुन् । थाई विदेशमन्त्री मेरिस सांगियाम पोन्गसा उनीहरूको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो । कृषि कामदारका रूपमा इजरायलमा कार्यरत उनीहरूलाई हमासले गत वर्षको अक्टोबर ७ को आक्रमणका क्रममा बन्धक बनाई लगेका थिए ।
इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको थियो भने सोही क्रममा जनवरी ३० मा उनीहरूलाई हमासले मुक्त गरी रेडक्रसको जिम्मा लगाएको थियो । रेडक्रसले उनीहरूलाई इजरायललाई बुझाएको र इजरायलबाट उनीहरू स्वदेश फर्किएको जनाइएको छ ।
रिहा भएपछि उनीहरू स्वास्थ्य अनुगमनका लागि इजरायलको अस्पतालमा १० दिनसम्म बसेका थिए । उनीहरू हमास र इजरायलबीचको बन्धक रिहाइ सम्झौता अन्तर्गत नभई थाई सरकारले हमाससम्म पुर्याएको बेग्लै पहुँचका कारण रिहा भएका हुन् । थाइल्यान्डको श्रम मन्त्रालयका एक जना अधिकारीले सरकारले रिहा भएका प्रत्येक बन्धकलाई एकमुष्ट ६ लाख थाई भाट अर्थात साढे १४ हजार पाउन्डका साथै ८० वर्ष उमेरसम्मका लागि मासिक ७२५ पाउन्ड तलब दिने जानकारी दिनुभएको छ ।
हमासले २०२३ को अक्टोबरमा इजरायलमा गरेको आक्रमणमा करिब १२ सय जनाको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाई लगेको थियो । त्यसमध्ये ३१ जना थाई नागरिक थिए । यसमध्ये २३ जना २०२३ मै मुक्त भएका थिए भने दुई जनाले गत वर्षको मेमा ज्यान गुमाएका थिए ।
थाइल्यान्डको विदेश मन्त्रालयले एक जना थाई नागरिक अझै पनि हमासको नियन्त्रणमा रहेको विश्वास गरिएको जनाएको छ ।