ग्रामी अवार्डको ‘एल्बम अफ दि इयर’ पुरस्कार अमेरिकी गायिका बियोन्सेलाई

ग्रामी कमिटीले ऐतिहासिक गल्ती सच्याएको टिप्पणी
माघ २१, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ग्रामी अवार्डको ‘एल्बम अफ दि इयर’ पुरस्कार अमेरिकी गायिका बियोन्सेलाई

काठमाडौं । चर्चित अमेरिकी गायिका बियोन्सेले अन्ततः ‘एल्बम अफ दि इयर’ श्रेणीको ग्रामी अवार्ड हात पारेकी छिन् । लस एन्जलसमा आयोजित ६७ औं ग्रामी अवार्ड्स समारोहमा उनको आठौं एल्बम "काउब्वाय कार्टर"का लागि एल्बम अफ दि इयरको पुरस्कार दिइएको हो ।

संगीत उद्योगका लागि अस्कर सरह मानिने ग्रामी अवार्डमा एल्बम अफ दि इयर सबैभन्दा उच्च श्रेणीको मानिन्छ । बियोन्सेले अहिलेसम्म सबैभन्दा बढी अर्थात ३५ वटा ग्रामी अवार्ड्स जिते पनि द बिग अवार्ड भनेर चिनिने एल्बम अफ दि इयर अवार्ड जित्न सकेकी थिइनन् । वर्षौं लामो प्रतिक्षापछि यस अवार्ड जित्दा बियोन्सेको खुशीको सीमा थिएन । “म आफूलाई पूर्ण सन्तुष्ट र अत्यन्तै सम्मानित भएको अनुभव गरिरहेकी छु । यसका लागि म धेरै धेरै वर्षदेखि प्रतिक्षारत थिएँ”, अवार्ड जितेपछिका उनका अभिव्यक्ति हुन् यी ।

बियोन्सेको यो उपलब्धिलाई बीबीसीले पनि ऐतिहासिक गल्तीका रूपमा हेरिँदै आएको त्रुटि सच्चिएको टिप्पणी गरेको छ । पहिलो ग्रामी नोमिनेशनको २५ वर्षपछि उनले एल्बम अफ दि इयर पुरस्कार जितेकी हुन् ।

यसअघि चार पटकसम्म उनी समारोहकै मुख्य मानिने यो श्रेणीको पुरस्कार पाउनबाट चुकेकी थिइन् । बियोन्सेको एल्बम काउब्वाय कार्टर एउटा ग्रामीण संगीत कन्ट्री म्युजिकमा आधारित एल्बम हो । यो एल्बमका गीतले ग्रामिण संगीतको अश्वेत मूललाई झल्काएको बताइन्छ । बियोन्से एल्बम अफ द इयर जित्ने सन् १९९९ पछिको पहिलो अश्वेत महिला पनि हुन् । काउब्वाय कार्टरले बेस्ट कन्ट्री एल्बमको अवार्ड पनि जितेको छ ।

समारोहमा र्‍यापर केन्ड्रिक लामार अर्को ठूलो विजेताका रूपमा देखापरे । उनले आफ्नो गीत ‘नट लाइक अस’ का लागि ‘रिकर्ड अफ दि इयर’ र ‘सङ अफ द इयर’ अवार्ड हात पारे ।

पप सेन्सेसन सब्रिना कार्पेन्टर, र्यापर डोएची, पिंक पोनी क्लबकी गायिका च्यापेल रोनले क्रमश: बेस्ट पप भोकल एल्बम, बेस्ट र्‍याप एल्बम र बेस्ट न्यु आर्टिस्टको अवार्ड हात पारे । त्यस्तै भारतीय मूलकी अमेरिकी गायिका तथा उद्यमी चन्द्रिका टण्डनले आफ्नो एल्बम त्रिवेणीका लागि बेस्ट न्यु एज क्याटगोरीमा ग्रामी अवार्ड हात पारिन् ।

ग्रामी समारोहको मूल थिम भने लस एन्जलसमा गत महिना लागेको महाविनाशकारी डढेलो थियो । समारोहमा आगलागी पिडितका लागि दर्शकहरूबाट ७० लाख अमेरिकी डलर आर्थिक सहयोग उठेको थियो । समारोहमा डढेलो निभाउन खेलेको भूमिकाका लागि अग्निनियन्त्रकहरूप्रति विशेष आभार र सम्मान व्यक्त गरिएको थियो ।