काठमाडौं । युद्धग्रस्त गाजाका प्रभावित प्यालेस्टिनी नागरिकलाई शरण दिन अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले दिएको सुझावलाई पाँच अरब राष्ट्रका विदेशमन्त्रीले संयुक्त रूपमा अस्वीकार गरेका छन् । गाजामा शान्ति स्थापना र पुनःनिर्माण गर्न त्यहाँका बासिन्दालाई इजिप्ट र जोर्डनले शरण दिन केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सुझाव दिनुभएको थियो ।
सोहि विषयमा इजिप्टको कायरोमा भएको लामो छलफलपछि पाँच अरब देशले संयुक्त रूपमा उक्त प्रस्तावलाई अस्वीकार गरेको हो । अरब राष्ट्रका विदेशमन्त्रीहरूले कायरोमा प्यालेस्टिनी अधिकारी र अरब लिगका महासचिवसँगको विस्तृत छलफलपछि ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेका हुन् । छलफलमा इजिप्ट, जोर्डन, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री सहभागी थिए ।
गाजामा पुनःनिर्माण र शान्तिका लागि गाजावासीलाई गाजाबाट जबरजस्ती बाहिर निकाल्ने प्रस्तावले अन्य मुलुकमा अस्थिरता निम्तिने भन्दै पाँच राष्ट्रले ट्रम्पको प्रस्तावलाई खुलेर अस्वीकार गरेका हुन् । साथै ट्रम्पको प्रस्तावले प्यालेस्टिनीको अधिकार हनन हुने र शान्ति वार्ता अलपत्र पर्ने जोखिम आइलाग्ने भन्दै पाँच अरब राष्ट्रले निष्कर्ष निकालेको बताइएको छ ।
यस्तै प्यालेस्टिनी नागरिकहरू आफ्नो भूमिमै रहेर गाजा पुनःनिर्माण गरिनुपर्ने उनीहरूको जोड थियो ।
पाँच अरब राष्ट्रका विदेशमन्त्रीले संयुक्त रूपमा गाजा पुनःनिर्माण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेका छन् । यस्तै प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्लूएको विकल्प नरहेको उनीहरूको भनाइ छ । मध्यपूर्वमा शान्ति कायम गर्न दुई राज्य नीति नै सही विकल्प रहेको उनीहरूले बताएका छन् । यस्तै इजिप्टले गाजा पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको सह अध्यक्षता गर्ने विषयलाई उनीहरूले स्वागत गरेका छन् ।
यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद विन अबदूल रहमान जासिम अल थानीले प्यालेस्टिनीलाई जबरजस्ती शरणार्थी बनाउने विषयले क्षेत्रमा एक पटक पुनः द्वन्द्व भड्किने जोखिम आउने भन्दै चेतावनी दिनुभएको छ । विभिन्न चरणमा गाजामा भएको युद्धबाट हाल लाखौं मानिस शरणार्थी बन्न बाध्य भएका छन् ।