काठमाडौं । अमेरिकाको वाशिङटन डीसीमा अमेरिकन एअरलाइन्सको विमान र सेनाको ब्ल्याक हक हेलिकोप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा परी हालसम्म १८ जनाको ज्यान गएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार हालसम्म १८ जनाको शव फेला परेको छ ।
वाशिङटन डीसीस्थित रेगन वाशिङटन विमानस्थलमा अवतरणका क्रममा उक्त विमान आकाशमै सेनाको हेलिकोप्टरसँग ठोक्किएपछि नजिकैको पोटोम्याक नदीमा खसेको थियो । विचिटाको कान्सासबाट उडान भरेको अमेरिकन एअरलाइन्स स्थानीय समयअनुसार राति ९ बजे विमानस्थलको रनवे थर्टी थ्री पुग्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
पीएस एअरलाइन्सको बम्बार्डियर सीआरजे सेभेन हन्ड्रेड विमानमा ६० जना यात्रु र चालक दलका ४ जना रहेको बताइएको छ । हेलिकोप्टरमा तीन जना सैनिक रहेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।
दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको संघीय उड्डयन प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनापछि विमानस्थलका सम्पूर्ण उडान तत्कालका लागि रोकिएको छ ।
वाशिङटन डीसीको आपत्कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा आइपुगेको बताइएको छ भने त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल पुगेको बीबीसीले जनाएको छ । फायर बोटहरूले नदीमा खोजी कार्य जारी राखेको बताइएको छ ।