पक्राउ गरिएका अवैध आप्रवासी राख्न ग्वान्टानामो बेमा नियन्त्रण केन्द्र निर्माण गर्न ट्रम्पको आदेश

माघ १७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
पक्राउ गरिएका अवैध आप्रवासी राख्न ग्वान्टानामो बेमा नियन्त्रण केन्द्र निर्माण गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्युबाको ग्वान्टानामो बेमा ३० हजार मानिस राख्न सकिने क्षमता भएको आप्रवासी नियन्त्रण केन्द्र निर्माण गर्न आदेश दिनुभएको छ ।

ग्वान्टानामो बेमा रहेको सैन्य जेलभन्दा पृथक निर्माण हुने उक्त केन्द्रमा अमेरिकी जनताका लागि खतरा ठानिएका अवैध विदेशी अपराधीलाई राखिने ट्रम्पको भनाइ छ । हालै संसदबाट पारित अवैध आप्रवासी विरोधी 'लाकेन रिले' कानुनलाई प्रमाणित गर्ने क्रममा ट्रम्पले उक्त कुरा बताउनुभएको हो ।

यसैबीच ट्रम्पका सीमा सुरक्षा प्रमुख बोर्डर जार टोम होम्यानले त्यहाँ पहिलेदेखि नै रहेको केन्द्रलाई विस्तार गरिने र आप्रवासन नियन्त्रणसम्बन्धी निकाय आइसीइले त्यसको सञ्चालन गर्ने बताउनु भएको छ । आफ्नो कब्जा गरिएको भूमिमा अमेरिकाले यातना र अवैध नियन्त्रणको कार्य गर्न लागेको भन्दै क्युबाको सरकारले भने तत्काल अमेरिकाको सो योजनाको भर्त्सना गरेको छ ।

ग्वान्टानामो बेको तटमा अमेरिकी नौसेनाको अखडा रहेको छ भने सो अखडाभित्र शंकास्पद विदेशी आतंकवादीलाई राख्ने कुख्यात सैन्य जेल समेत रहेको छ । उक्त जेलभन्दा पृथक त्यहाँ आप्रवासीलाई राख्ने गरी एउटा नियन्त्रण केन्द्र पहिलेदेखि नै रहेको र समुद्री क्षेत्रबाट पक्राउमा परेका हाइटी र क्युबाका अवैध आप्रवासीलाई राख्न कहिलेकाँहिमात्रै प्रयोगमा ल्याइने गरिएको रोयटर्सले जनाएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुशको आदेशमा शंकास्पद विदेशी आतकंकारीलाई राख्ने गरी त्यहाँ सैन्य जेल निर्माण गरिएको थियो । सो जेलमा चरम यातना दिने र लामो समयसम्म नियन्त्रणमा राखिने गरिएको भन्दै मानवअधिकारवादी समूहहरूले भर्त्सना गर्दै आएका छन् ।

ट्रम्पका दुई पूववर्ती डेमोक्र्याटिक राष्ट्रपतिहरू बराक ओबामा र जो बाइडनले ग्वान्टानामो जेल बन्द गर्ने प्रतिबद्धता जनाएपनि उनीहरू त्यहाँ रहेका कैदीको संख्या घटाउन मात्र सफल भएका थिए । तर ट्रम्पले भने उक्त जेललाई कायमै राख्ने बताउँदै आउनुभएको छ ।



Enter Kantipur TV HD
Advertisement