काठमाडौं । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । टाइम्स अफ इजरायलका अनुसार गाजामा बन्धक बनाइएकामा एक नेपाली, एक तान्जेनियाली र ८ जना थाई नागरिक छन् ।
विपिनको रिहाइका विषयमा भने टाइम्स अफ इजरायलले केही उल्लेख गरेको छैन । सन् २०२३ अक्टोबर ७ मा हमासले अप्रत्याशित रूपमा इजरायलमा आक्रमण गरी २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । तीमध्ये नेपाली विद्यार्थी विपिन पनि थिए ।
इजरायल र प्यालेस्टिनी समूह हमासबीच भएको युद्धविराम सम्झौता अन्तर्गत हमासले तेस्रो पटक बन्धक रिहा गर्ने सम्बन्धी सूची सार्वजनिक गर्दा नेपाली नागरिक अझै गाजामा बन्धक रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको हो ।
आज रिहा हुनेमध्ये तीन इजरायली र पाँच थाई नागरिक छन् । रिहा हुने इजरायली नागरिकमा २० वर्षीया अगाम बर्गर, २९ वर्षीया अर्बेल यहूद र ८० वर्षीय गादी मोसे मोजेस छन् । दुवै पक्षबीच भएको सहमति अनुसार आउँदो शनिबार हमासले पुनः तीन इजरायली बन्धकलाई रिहा गर्नेछ ।
हमासले रिहा हुने बन्धकको सूची मध्यस्थतकर्तालाई बुझाएको र इजरायलले समेत त्यसमा सहमति जनाएको टाइम्स अफ इजरायलले जनाएको छ ।
तीन बन्धक रिहाइको बदलामा आज इजरायलले ११० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ।
लामो प्रयासपछि अमेरिका, इजिप्ट र कतारको पहलमा दुवै पक्षबीच युद्धविराम सम्झौता भएको हो । जस अन्तर्गत हमासले पहिलो चरणमा दुई पटक गरी ७ बन्धकलाई रिहा गरिसकेको छ भने इजरायलले २९० जना बन्धकलाई छाडिसकेको छ ।