डोल्पाको अन्नपूर्ण माबिमा भ्रष्टाचार आरोपमा १४ जना बिरुद्ध मुद्वा

असार २३, २०८२ |सरोज थापा
डोल्पाको अन्नपूर्ण माबिमा भ्रष्टाचार आरोपमा १४ जना बिरुद्ध मुद्वा

डोल्पा । हिमाली जिल्ला डोल्पाको अन्नपूर्ण माध्यामिक विद्यालयमा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरी करिब ३० लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, अन्नपूर्ण माविको निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिलाई हानी नोक्सानी पुर्‍याइएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागसहित २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरिएको हो।

डोल्पाको मुड्केचुला गाउँपालिका–७ मा अवस्थित अन्नपूर्ण माविले आर्थिक वर्ष २०७९/८० मा इबीआइडी प्रणालीमार्फत बोलपत्र आह्वान गरेको थियो। तर मूल्याङ्कनका क्रममा सार्वजनिक खरिद ऐन, शिक्षा ऐन तथा सम्बन्धित नियमावलीको मर्म विपरीत निर्णय गर्दै विद्यालयमै कार्यरत शिक्षीका उषा कुमारी सिंहको नाममा रहेको "दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई ठेक्का दिइएको आयोगको आरोप छ।

१४ जनालाई मुद्दा, विशेष अदालतमा आरोपपत्र

प्रधानाध्यापक नरदेव रोकायासहित, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा, शिक्षकहरू हृदय नारायण साह र जयबहादुर ठकुल्ला, इन्जिनियर देवराज रावत, वडा अध्यक्ष दत्तबहादुर बुढा, सदस्य दुर्गा देवी लामा, अशोक रोकाया, कविता बुढा (ठकुल्ला), रुपा रोकाया, पृथि ठकुल्ला, धनबहादुर कामी, नारायणी ठकुल्लासहित शिक्षिका तथा कम्पनी प्रोपाइटर उषा कुमारी सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

आयोगले सार्वजनिक निकायका कर्मचारी, विद्यालयका पदाधिकारी तथा ठेकेदार मिलेर जनताको सम्पत्तिमा अनियमितता गर्न नपाउने सन्देश दिन मुद्दा दायर गरिएको जनाएको छ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।