काठमाडौं । मंगलबार अपहरणमा परेको भनिएका चिनियाँ नागरिक र भारतीय समूहले नेपालमा बसेर अवैध ठगीधन्दा चलाएको खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुरको भीमफेदीबाट भारतीय नागरिकले अपहरण गरेको भनिएका चिनियाँको उद्धार गरेपछि उनीहरुको अवैध कारोबार खुलेको हो ।
काठमाडौंको ठमेलबाट चार भारतीय नागरिकले चिनियाँ नागरिकलाई गाडीमा हालेर लगेका थिए । अपहरणमा परेका चिनियाँले नेपालमा बसेर अनलाईन जुवा र ठगीको धन्दा चलाएको र उक्त रकम कारोबार लागि भारतीय नागरिकको खाता प्रयोग गरेका थिए । आफ्नो खाता प्रयोग गरे वापतको कमिसन नपाएको भन्दै चार भारतीयले चिनियाँ नागरिकलाई लिएर गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
चिनियाँसँग अपहरणमा संलग्न चार भारतीयले तीन करोड ५० लाख भारतीय रुपैयाँको कारोवार गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताउनु भयो ।
प्रहरीले चिनियाँ समूहमाथि पनि अनुसन्धान अगाडि बढाएको छ । नेपालमा बसेर तेस्रो देशका नागरिक ठगी गर्न भारतीय समूह पनि प्रयोग गरेको खुलेपछि प्रहरीले चिनियाँमाथि थप अनुसन्धान अगाडि बढाएको हो ।