इजरायली सेनाको हवाई आक्रमणमा परी पाँच पत्रकारको मृत्यु

पुस ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली सेनाको हवाई आक्रमणमा परी पाँच पत्रकारको मृत्यु

काठमाडौं । मध्य गाजाको अल अवदा अस्पताल नजिकै इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी पाँच जना पत्रकार मारिएका छन् । अल कुद्स अल यूम टेलिभिजन च्यानलका ती पत्रकारहरू नुसेरात शरणार्थी शिविरस्थित अल अवदा अस्पताल नजिकै भएको घटनाको समाचार संकलन गर्न गएका वेला आक्रमणमा परेका थिए ।

उनीहरू चढेको भ्यान इजरायलले गरेको हवाई आक्रमणको लक्ष्यमा परेको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक एक भिडिओमा रातो ठूलो अक्षरमा प्रेस लेखिएको सेतो भ्यान आगोमा बलिरहेको देखिएको समाचारमा जनाइएको छ । कुद्स न्युज एजेन्सीले नागरिक सुरक्षा टोलीका सदस्यहरूले मृतकको शव भ्यानबाट बाहिर निकालेको र आगो निभाएको जनाएको छ ।

इजरायली अधिकारीहरूले भने यो घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रेस स्वतन्त्रता र पत्रकारहरूको अधिकारका लागि कार्यरत संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट-सीपीजे’ ले यसै महिनाको सुरूमा पनि एक साताको अवधिमा चार जना प्यालेस्टिनी पत्रकार मारिएको भन्दै इजरायलको भर्त्सना गरेको थियो । सीपीजेका अनुसार गत वर्षको अक्टोबर ७ देखि इजरायलले गाजामाथि सुरू गरेको आक्रमणमा कम्तीमा १४१ जना पत्रकार मारिएका छन् ।



Enter Kantipur TV HD
Advertisement