काठमाडौं । देशमा पूर्वाधार विकासको गति सुस्त छ । स्तरोन्नतिको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा-मुग्लिङ खण्ड होस् वा पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल-नारायणगढ खण्ड, वर्षौंसम्म सडक अलपत्र पर्दा पर्यटकीय गतिविधि समेत प्रभावित छन् । मुख्य पर्यटकीय सिजनमै तराईका विमानस्थलमा हुस्सुका कारण उडान प्रभावित हुँदाको असर पनि पर्यटन क्षेत्रमा परेको छ ।
पर्यटकीय राजधानी पोखरा अहिले सुस्त र भद्रगोल विकासे परियोजनाहरूको मारमा छ । स्तरोन्नतिका कारण पृथ्वी राजमार्ग ठाउँठाउँमा बगर जस्तो बनेको छ । निर्माणाधीन नयाँ लेन समेत अलपत्र छन् । पोखराभित्रै सेती नदीमाथि सिग्नेचर पुल बनिरहेको छ । लेकसाइडमा विद्युतीय तार भूमिगत गर्न विद्युत् प्राधिकरणले सडक खनेको छ । कतै महानगरले नाला बनाइरहको छ त कतै खानेपानीको पाइप बिछ्याउने काम हुँदै छ । तर, यस्ता काम समयमै नसकिँदा पर्यटकलाई भने धुलोको सास्ती छ ।
यही वर्ष सक्ने भनेको मुग्लिङ-पोखरा सडक अन्तर्गत पूर्वी खण्डको ६८ प्रतिशत र पश्चिम खण्डमा ३१ प्रतिशत मात्र काम सकिएको छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक-याम्दी खण्डको करिब साढे २ किलोमिटर खण्डको हालत उस्तै छ । सडक मार्ग अस्तव्यस्त भएका वेला हवाई यात्रुको संख्या बढ्नुपर्ने हो । तर गत कात्तिक २३ गतेदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यावसायिक उडान कटौती हुँदा र पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पनि पर्यटक आगमन प्रभावित छ ।
पोखरामा आन्तरिक तथा बाह्य गरी वार्षिक नौ लाख पर्यटक आउँछन् । तर औसत बसाइँ २.७५ दिन र दैनिक औसत खर्च ५२ अमेरिकी डलर मात्र छ । वेलावेला हुने मेला तथा महोत्सवले पनि पोखरामा पर्यटक बसाइँ अवधि लम्ब्याउन सकेको छैन ।
त्यसो त बाघका लागि चर्चित बर्दिया राष्ट्रिय निकुञ्जले पनि आशातित पर्यटक भित्र्याउन सकेको छैन । यो निकुञ्जमा मात्र १२५ वटा बाघ छन् । भारतीय पर्यटक नेपालगन्ज हुँदै कैलाश मानसरोवरको दर्शन गरेर फर्कन्छन् । तर नेपालगञ्जबाट नजिकैको बर्दिया निकुञ्जसम्म ती पर्यटक लैजाने गरी कुनै काम हुन सकेको छैन । यातायातको असहजतादेखि प्रचारप्रसारको कमीले निकुञ्जको सम्भावना ओझेलमा परेको हो ।
पर्यटकको पर्याप्त सम्भावना बोकेको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि ओझेलमै छ । विभिन्न प्रजातिका पन्छी र विश्वमा सबैभन्दा ठूलो बाह्रसिंगाको झुण्ड यही निकुञ्जमा पाइन्छ । यति धेरै विशेषता भएको निकुञ्जसम्म अपेक्षित पर्यटक भने पुग्न सकेका छैनन् । वाषिर्क औसत ३ हजार ५ सय स्वदेशी तथा विदेशी पर्यटक मात्र यहाँ पुग्ने गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटकीय स्थलहरूमा धेरैभन्दा धेरै पर्यटक पुर्याउन दिगो पूर्वाधार व्यवस्थापनमा भने पटक्कै गम्भीर छैन ।