काठमाडौं । रुसको राजधानी मस्कोमा भएको बम विस्फोटमा रुसी सेनाका एक वरिष्ठ जनरल इगोर किरिलोभको मृत्यु भएको छ । विस्फोटमा उहाँका सहायकको समेत मृत्यु भएको छ । युक्रेनको गुप्तचर निकाय एसबीयूको एक स्रोतले उक्त घटना आफूहरुले गराएको पुष्टि गरेको रोयटर्सले जनाएको छ । औपचारिक रुपमा भने युक्रेनले यसबारे कुनै टिप्पणी गरेको छैन ।
५४ वर्षीय किरिलोभ रुसको परमाणु, जैविक तथा रसायनिक रक्षा बलको प्रमुख हुनुहुन्थ्यो । आज बिहान आफ्नो अपार्टमेन्टबाट बाहिरिँदै गर्दा प्रवेशद्वार नजिकै रहेको एउटा इलेक्ट्रिकल स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहायकको मृत्यु भएको हो । बमलाई रिमोटको प्रयोगमार्फत विस्फोट गराइएको सरकारी समाचारमाध्यमले जनाएका छन् ।
सोमबार मात्रै युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित रसायनिक हतियार प्रयोग गरेको भन्दै किएभमा किरिलोभविरुद्ध मुद्दा दर्ता गरिएको थियो । रुसले रसायनिक हतियार प्रयोग गरेको सम्बन्धमा उहाँको भूमिकालाई लिएर यसअघि नै बेलायतलगायतका केही देशले प्रतिबन्ध लगाएका थिए । सन् २०२२ देखि किरिलोभले युक्रेनले परमाणु पदार्थ फैलाउन सक्ने डर्टी बम बनाइरहेको आरोप लगाउँदै आउनुभएको थियो । यद्यपि यससम्बन्धमा उहाँले कुनै प्रमाण भने प्रस्तुत् गर्न सक्नुभएको थिएन । यसैगरी किरिलोभले अमेरिकाले युक्रेनलाई जैविक हतियार "बायोलोजिकल वेपन" प्रदान गर्न लागेको आरोपसमेत लगाउँदै आउनुभएको थियो ।
विस्फोटका कारण अपार्टमेन्टको झ्यालका शिशाहरु फुटेको र भवनको प्रवेश द्वारमा क्षति पुगेको छ । अधिकारीहरुले हत्या, आतंकवाद र अवैध हतियार तस्करीको आरोपमा फौजदारी अनुसन्धान सुरु गरेको स्थानीय समाचार–माध्यमले जनाएका छन् ।
उक्त आक्रमणका पछाडि युक्रेनको गुप्तचर निकाय "स्पेसल सर्भिस"को हात रहेको आशंका अनुसन्धानकर्ताहरुले गरेको मस्कोबाट प्रकाशित हुने दैनिक पत्रिका कोमरसान्टले जनाएको छ । युक्रेनी समाचार समिति आरबीसीले पनि नाम नखुलाइएको स्रोतलाई उल्लेख गर्दै सेक्युरीटी सर्भिस अफ युक्रेन-एसबीयूले किरिलोभलाई मारेको दाबी गरेको छ ।