काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताउनुभएको छ ।
आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताउनु भयो । उहाँले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताउनु भयो ।
भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुनपर्ने बताउनु भयो । ‘अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुपर्यो । के बिगार्नुपर्यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन । अहिले पनि १०-२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै छन्,' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'त्यसकारण हामीले के भन्यौँ भने १५÷२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै राखेर बस्न पाइँदैन । भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाई पाएको छ, न कारबाही भएको छ । यस्तो हुनु हुँदैन ।'
उहाँले थप्नुभयो, ' ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए । अब जहिले मुद्दा उजुरी परेको २० वर्ष ५० वर्षपछि जहिले हेरे पनि हुन्छ, नहेरे पनि हुन्छ । किनभने जनताले त्यही भन्यो, लहैलहै त्यही चल्यो, हुइँया त्यही मच्चियो । हामीले त्यही पास गरिदियौँ ।'