काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले महिलाहरुलाई मिडवाइफ्री अर्थात् सुडेनी र नर्सको तालिम लिनमा प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तामा रहेका पाँच वटा संस्थाले समेत उनीहरुलाई तालिबानले अर्को सूचना प्राप्त नहुँदासम्मका लागि त्यस्ता कक्षाहरु बन्द गर्न आदेश दिएको पुष्टि गरेका छन् । यो खबर सार्वजनिक भएसँगै सुडेनी र नर्सको तालिम लिइरहेका महिलाहरु रोइरहेको दृश्य सामाजिक सञ्जालमा साझा गरिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी तालिबान सरकारको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छैन ।
अमेरिकालगायतका पश्चिमा देशका सेना बाहिरिएपछि २०२१ को अगष्टमा तालिवानले अफगानिस्तानमा पुनः सत्ता कब्जामा लिएको थियो । त्यसयता तालिबानले आफ्ना पूर्व वाचाविपरित महिला र बालिकामाथि रोजगार र शिक्षाको क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
महिलालाई माध्यमिक र उच्च शिक्षा अध्ययनमा प्रतिबन्ध लगाइएको छ भने गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय सहायता एजेन्सीमा काम गर्नमा पनि प्रतिबन्ध लगाइएकोछ । महिलाद्वारा सञ्चालित सबै सौन्दर्य सेलुनहरु बन्द गर्न लगाइएको छ भने महिलालाई पार्कमा भ्रमण गर्न र जिम जानमा समेत प्रतिबन्ध छ ।