काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले जनवरी २० मा आफूले कार्यकाल सम्हाल्नुअघि हमासद्वारा गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिनु भएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत् हमास र मध्यपूर्वका लागि यस्तो चेतावनी दिनु भएको हो । बन्धक रिहा गर्न भन्दै ट्रम्पले मानवता विरुद्ध अत्याचार गर्ने जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिनु भएको छ । जुनसुकै समूहले बन्धक बनाए पनि उसले अमेरिकी इतिहासको अहिलेसम्मकै ठूलो सजायको सामना गर्नुपर्ने उहाँले बताउनु भयो ।
सन् २०२३ अक्टोबरमा अप्रत्याशित रूपमा हमासले इजरायलतर्फ आक्रमण गरेर करिब दुई सय ५० जनालाई बन्धक बनाएर गाजा लगेको थियो । तीमध्ये केही मानिस अमेरिकी नागरिक रहेको बताइएको छ । दुई सय ५० मध्ये एक सय एक जना अझै हमासको नियन्त्रणमा रहेको इजरायली पक्षको दाबी छ । एक सय एकमध्ये आधाको ज्यान गइसकेको अनुमान गरिएको छ ।
हमासले भने युद्धविराम नभएसम्म बन्धक रिहा नहुने अडान राख्दै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई पूर्ण रूपमा ध्वस्त नपारेसम्म युद्धविराम नहुने बताउँदै आउनु भएको छ ।
यसैबीच, हमासले १४ महिनादेखि जारी युद्धमा ३३ जना बन्धकको मृत्यु भइसकेको बताएको छ । हमासले मृत्यु हुनेको राष्ट्रियता भने खुलाएको छैन । बाँकी बन्धक युद्धका क्रममा बेपत्ता भइसकेको जानकारी हमासले दिएको छ । हिजो हमासले आफ्नो नियन्त्रणमा रहेका एक अमेरिकी-इजरायली युवाको भिडियो सार्वजनिक गरेको थियो । जसमा बन्धक बनाइएका युवाले ट्रम्पलाई आफ्नो रिहाइका लागि पहल र सुरक्षित घर फर्केने सुनिश्चत गर्न आग्रह गरेका थिए ।
हमास-इजरायल युद्ध अन्त्यका लागि जो बाइडन प्रशासनले निरन्तर प्रयास गरे पनि युद्धिविराम वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।