काठमाडौं । भिएतनामको उच्च अदालतले १२ अर्ब डलर घोटाला काण्डमा आरोपित अर्बपति घरजग्गा व्यवसायी ट्रुओङ्ग माइ लानलाई तल्लो अदालतले सुनाएको मृत्युदण्डको सजायलाई सदर गरेको छ ।
भिएतनामको अहिलेसम्मकै ठूलो आर्थिक घोटाला र बैंक ठगी मानिएको मुद्दामा रियल स्टेट डेभलपर कम्पनी "भान थिन फाट होल्डिङ्ग्स ग्रुप"की अध्यक्ष लानलाई ट्रायल कोर्टले गत अप्रिलमा मृत्युदण्डको सजाय सुनाएको थियो । अदालतले लानले छद्म शेयर लगानीकर्ताको नामबाट देशको पाँचौ ठूलो बैंक साइगोन कमर्सियल बैंकलाई गोप्यरुपमा आफ्नो नियन्त्रणमा राखेको र विभिन्न कागजी कम्पनीमार्फत सो बैंकबाट ऋणका रुपमा १२ अर्ब डलर निकालेर अपचलन गरेको भन्दै दोषी ठहर गरेको थियो ।
लानलाई २०२२ मा गिरफ्तार गरिएको थियो । लानलाई मृत्युदण्डका अतिरिक्त छलकपटमार्फत सम्पत्ति प्राप्ति, सम्पत्ति शुद्धीकरण र अवैधरुपमा सीमापारी रकम स्थानान्तरणको अपराधमा गत अक्टोबरमा आजीवन कारावासको सजाय पनि सुनाइएको थियो । हो चि मिन्ह सहरस्थित उच्च जनअदालतले लानको मृत्युदण्डको सजाय कम गर्ने कुनै आधार नरहेको भन्दै तल्लो अदालतको फैसलालाई कायम राख्ने निर्णय सुनाएको जनाइएको छ ।
तर भियतनामी कानुन अनुसार ६८ वर्षीया लानले घोटाला भएको रकम १२ अर्ब डलरको ७५ प्रतिशत अर्थात् नौ अर्ब डलर फिर्ता गरेकोमा उनको मृत्युदण्डको सजाय आजीवन कारावासमा परिणत हुन सक्ने बताइएको छ । लान सत्तारुढ कम्युनिष्ट पार्टीका महासचिव नगुएन फु ट्रोङ्गले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत जेल हालिने देशको सर्वाधिक चर्चित व्यवसायी हुन् । लानले उच्च अदालतको फैसला पुनरावलोकनका लागि अनुरोध गर्न सक्ने बताइएको छ ।