सन् २०२० को चुनावलाई उल्टाउन खोजेको ट्रम्पविरुद्धको मुद्दा खारेज

राष्ट्रपतिको दोस्रो कार्यकाल सकिएपछि फेरि मुद्दा दायर गर्न सकिने
मंसिर ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सन् २०२० को चुनावलाई उल्टाउन खोजेको ट्रम्पविरुद्धको मुद्दा खारेज

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पविरुद्ध सन् २०२० को संघीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमाथि सुनुवाई गर्दै आएका संघीय न्यायाधीशले उक्त मुद्दा खारेज गरिदिएका छन् ।

अवैध रूपमा सन् २०२० को चुनावलाई उल्टाउन खोजेको र वर्गीकृत दस्तावेजहरु आफूसँग राखेको आरोपमा ट्रम्पमाथि मुद्दा दायर गरिएको थियो । ट्रम्पविरुद्धको दुवै मुद्दालाई संघीय न्यायाधीश तान्या चुटकनले खारेज गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध आपराधिक मुद्दा ल्याएका विशेष अभियोजक ज्याक स्मिथले नै न्याय विभागको नीतिको आधारमा आरोप खारेज गर्न आग्रह गर्नुभएको थियो । अमेरिकी न्याय विभागको नीतिअनुसार कुनै व्यक्ति राष्ट्रपतिमा निर्वाचित भए सो व्यक्तिमाथिको अभियोगमा प्रतिबन्ध लगाउने प्रवधान छ ।

न्यायाधीश तान्या चुटकनले स्मिथको आग्रहमा मुद्दामा सुनुवाई गर्दै ‘पूर्वाग्रहबिनै’ खारेज गरिएको बताउनुभयो । यसको अर्थ ट्रम्पको दोस्रो कार्यकाल सकिएपछि पुनः आरोप दायर गर्न सकिन्छ । ट्रम्पले भने दुवै घटनामा आफू दोषी नभएको दाबी गर्दै आउनुभएको छ ।

केही दिनअघि एक अदालतले पोर्नस्टार स्टोर्मी ड्यानियलसँग जोडिएको हश मनी ट्रायल मुद्दालाई अनिश्चितकालिनका लागि रद्द गरेको थियो । ट्रम्पले ह्वाइट हाउस छाडेपछि उहाँविरुद्ध थुप्रै मुद्दा दायर भएका थिए ।

नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा ट्रम्पले ऐतिहासिक जित हासिल गरेर ह्वाइट हाउसको पुनरागमनलाई सुनिश्चित गरेपछि विस्तारै उहाँविरुद्धका मुद्दा खारेज हुँदै गएका छन् । मुद्दा खारेजीपछि ट्रम्पले आफूमाथिका आरोप कानुनविपरीत रहेको जिकिर गर्नुभएको छ ।