काठमाडौं । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले विश्वकै धनाढ्य व्यक्ति इलन मस्कको स्याटेलाइटमा आधारित इन्टेरनेट सेवा कम्पनी स्टारलिंकले नेपालमा सेवा विस्तार गर्न नेपाल सरकारसँग संवाद थाले पनि हालसम्म ठोस प्रगति नभएको बताउनुभएको छ ।
गत शुक्रबार प्रधानमन्त्री केपी ओलीले एलन मस्कसँग भिडियो वार्ता गरेको स्वयं ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो । यसअघि स्टारलिंकका प्रतिनिधिले नेपाल आएर प्रधानमन्त्रीबाहेक सञ्चारमन्त्री गुरुङसँग कुराकानी गरेका थिए ।
गुरुङले स्टारलिंकका प्रतिनिधिले आफूसँग कुरा गरेको जानकारी दिँदै उनीहरूको प्रस्तावका बारेमा आफ्ना कुरा राखेको बताउनुभयो ।
नेपालको भौगोलिक बनोट सुहाउँदो प्रविधिले दूरदराजमा पनि सहजै इन्टरनेट सेवा पुर्याउन सकिने भएकाले स्टारलिंकले नेपालमा सेवा विस्तार गर्न चाहेको आफूले बुझेको गुरुङको भनाइ छ । 'स्टारलिंकका उपाध्यक्षले आएर मसँग भेटेका थिए । यहाँका डाँडाकाँडा, पहाडहरूसम्म इन्टरनेट पुर्याउन आफ्नो स्याटेलाइट प्रविधिले सघाउन सक्ने उनीहरूको भनाइ थियो', गुरुङले भन्नुभयो ।
'प्रधानमन्त्रीसँग इलन मस्कले गरेको भिडियो वार्तामा के कुरा भयो?' कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा गुरुङलाई सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, 'के कुरा भयो भन्ने त मलाई थाहा छैन। तर स्टारलिंक नेपाल आउने हो भने नेपालको कानुनअनुसार आउन तयार हुनुपर्छ।'
स्टारलिंकबाट नेपाललाई ठोस प्रस्ताव भने आइनसकेको समेत गुरुङले बताउनुभयो। 'मेरो टेबलमा त्यस्तो कुनै प्रस्ताव आएको छैन', गुरुङले भन्नुभयो ।
स्टारलिंकले नेपालमा आफ्नै पूर्ण स्वामित्वको कम्पनीमार्फत सेवा विस्तार गर्न चाहेको गुरुङले बताउनुभयो । नेपालको कानुनअनुसार विदेशी कम्पनीले नेपालमा व्यवसाय संचालन गर्न २० प्रतिशत स्वामित्व नेपाली नागरिकको हुनुपर्ने प्रावधान छ । तर स्टारलिंक भने २० प्रतिशत सेयर दिन तयार भएको छैन ।
त्यसबाहेक नेपालको दुरसञ्चार क्षेत्रले भू-राजनीतिमा समेत प्रभाव पर्ने भएपछि नेपाल सरकारले स्टारलिंकलाई नेपाल प्रवेश दिने कि नदिने भन्ने निर्णय गर्न सकेको छैन ।
सन् २०१९ मे २३ मा ६० वटा स्याटेलाईबाट विश्वभर उच्च गतिको इन्टरनेट दिने उद्देश्यले स्टारलिंक सुरु गरिएको थियो । यो कम्पनीले अहिले १५ सयभन्दा बढी स्याटेलाईटमार्फत विश्वका ९३ देशमा उच्च गतिको इन्टरनेट सेवा दिइरहेको छ ।
कार्यक्रम फायरसाइड भिडियोमा हेर्नुहोस् :
र यो पनि...