काठमाडौं । स्पेनिस लिग ला लिगामा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ । रियालले गएराति भएको खेलमा लेगानेसलाई उसकै मैदानमा तीन-शून्य गोलले पराजित गरेको हो ।
सुरुवातमै किलियिन एम्बाप्पेले भिनिसियस जुनियरको सहयोगमा सशक्त फिनिस गर्दै गोल गरेको सोचेका थिए । तर अफ साइड झन्डा उठेपछि रियाल निराश बन्न पुग्यो । ४३औं मिनेटमा भने भिनिसियकै पासमा एम्बाप्पेले गोल गदै खाता खोले ।
फ्रेन्च स्ट्राइकरको यो सातौं लिग गोल हो । ६६औं मिनेटमा फेडेरिको भाल्भर्डेले अग्रता दोब्बर पारे । ८३औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । ८५औं मिनेटमा जुड बेलिङगमले टिमका लागि तेस्रो गोल गरे ।
ब्रहिम डियाजको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । सोही बलमा बेलिङगमले गोल गरेपछि रियालले सहज जित हात पारेको हो । अहिलेसम्म रियाललाई पराजित गर्न नसकेको लेगानेसले कुनै पनि समय गोलकिपर टिबो कोट्वालाई चुनौती दिन सकेन ।
तालिकाको दोस्रो स्थानमा उक्लिएको रियालको १३ खेलबाट ३० अंक छ । एक खेल बढी खेलेको बार्सिलोनाको ३४ अंक छ । १४ अंक जोडेको लेगानेस १४औं स्थानमा छ ।