काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडनबिच पेरुमा जारी एसिया प्रशान्त आर्थिक सहयोग एपेकको वार्षिक शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको छ ।
भेटमा राष्ट्रपति सीले भावी राष्ट्रपति डनल्ड ट्रम्पसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको बीबीसीले उल्लेख गरेकोछ । दुवै नेताले बाइडनको चारवर्षे कार्यकालका अवसरमा दुई देशबीचको सम्बन्धमा उतारचढाव आएको स्वीकार गर्नुभएको थियो । दुवै नेताले यो अवधिमा व्यापार र ताइवान जस्ता मुद्दामा तनाव कम गर्ने दिशामा प्रगति भएको विषयमा जोड दिएको समेत जनाइएको छ ।
वार्ताका क्रममा सीले अमेरिकासँग स्थिर, स्वस्थ र दिगो सम्बन्ध कायम राख्ने चिनियाँ लक्ष्य यथावत् रहेको भन्दै आफु नयाँ अमेरिकी प्रशासनसंग संवाद, सहयोग विस्तार र मत भिन्नताको व्यवस्थापनका दिशामा काम गर्न तयार रहेको बताउनु भएको थियो ।
प्रत्युत्तरमा बाइडनले दुई विश्व शक्तिबीचको रणनीतिक प्रतिष्पर्धा द्वन्द्वमा परिणत हुन नहुने बताउनु भएको थियो । बाइडनले आफूहरु दुवैबिच सधै एक मत नभएपनि खुलस्त र स्पष्ट छलफल भएको बताउनु भएको थियो ।
सीलाई भेटन बाइडन उहाँ बसेको होटेलमा पुग्नु भएको थियो भने दुवै नेताबीच करीब दुई घण्टा औपचारिक वार्ता भएको थियो । दुई नेताबीच सात महिनापछि भेटवार्ता भएको हो । राष्ट्रपतिका रुपमा बाइडनको सीसँगको यो अन्तिम भेटवार्ता हो । चिनियाँ वस्तुमा आयात कर बढाउने ट्रम्पको चुनावी वाचाका कारण दुई महिनापछि ट्रम्पको हृवाइट हाउसमा पुनरागमन भएपछि अमेरिका चीन सम्बन्ध थप अस्थिर हुन सक्ने विश्लेषकहरुको भनाई रहेको छ ।
ट्रम्पले आफ्नो अमेरिका फस्ट नीति अनुसार चीनबाट आयात हुने सबै वस्तुमा ६० प्रतिशत आयात कर लगाउने बताउँदै आउनु भएकोछ । ट्रम्पले चीनप्रति आक्रामक धारणा राख्ने मार्क रुबियोलाई आफ्नो विदेशमन्त्रीका रुपमा मनोनयन गरेका कारण पनि दुई देशबीचको सम्बन्ध असहज हुन सक्ने आंकलन गरिएको छ ।