काठमाडौं । रुसले युक्रेनका विभिन्न क्षेत्रमा ऊर्जा संरचनालाई लक्षित गर्दै व्यापक हवाई आक्रमण गरेको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले रुसी आक्रमणबाट आफ्ना उर्जा उत्पादन प्लान्टहरुमा ठूलो क्षति पुगेको जनाएको छ ।
युक्रेनका विदेशमन्त्रीले यो अहिलेसम्म गरिएका ठूला हवाई आक्रमणमध्ये एक भएको बताउनुभएको छ । निद्रामा रहेका नागरिक, शान्तिपूर्ण सहर र महत्त्वपूर्ण भौतिक संरचनामाथि रुसले क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी आक्रमण गरेको उहाँको भनाइ छ । रुसी आक्रमणमा परेका तीन क्षेत्रमा आपतकालिन ब्ल्याकआउटको घोषणा गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि १ सय २० क्षेप्यास्त्र र ९० वटा ड्रोनले आक्रमण गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै जेलेन्स्कीले युक्रेनी हवाइ रक्षा संयन्त्रले एक सय ४० भन्दा बढी लक्ष्यलाई ध्वस्त पारेको समेत उल्लेख गर्नुभएको छ ।
रुसले विभिन्न दिशाबाट ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि युक्रेनका विभिन्न क्षेत्रमा रातभरी जसो हवाई आक्रमणका साइरनहरु बजेका थिए । दक्षिणी सहर माइकोलाइभमा सबैभन्दा बढी आक्रमण भएको जनाइएको छ । यहाँ कम्तीमा २ जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएको जनाइएको छ ।
यस्तै डिनिप्रो क्षेत्रमा दुई जना रेलवे कर्मचारीको मृत्यु भएको र अन्य तीन घाइते भएको बताइएको छ ।
यस्तै ब्ल्याक सीको तटमा अवस्थित बन्दरगाह शहर ओडेशामा विद्युत् आपूर्ति पूर्णरुपमा अवरुद्ध भएको छ । राजधानी किभमा हावामा ध्वस्त पारिएका क्षेप्यास्त्र र ड्रोनका टुक्राहरु थुप्रै स्थानमा खसेको बताइएको छ ।
पश्चिमी यूक्रेनतर्फ क्षेप्यास्त्रहरु आइरहँदा पोल्याण्डले आफ्ना लडाकु विमानलाई तयारी अवस्थामा राखेको जनाइएको छ ।