काठमाडौं । गाजामा इजरायली सेनाको पछिल्लो आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । २० जना भन्दा धेरै घाइते भएका छन् ।
गाजाको शाती शरणार्थी शिविरस्थित विस्थापित परिवारले आश्रय लिइरहेको अबु अस्सी विद्यालयमा भएको आक्रमणमा १० जना प्यालेस्टाइनीको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघद्वारा सञ्चालित शिविरमा अझै पनि धेरै मानिसहरु भग्नावशेषमुनि फसेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । आक्रमणबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
शनिबार उत्तरी गाजा पट्टीबाट इजरायलमा प्रहार गरिएका दुईवटा रकेटलाई निस्तेज पारेको इजरायली सेनाको दाबी छ । इजरायलमा गत वर्षको अक्टोबर ७ मा हमासले आक्रमण गरेयता गाजामा इजरायलको कारबाही जारी छ ।
गाजाबाट १३ महिनाको अवधिमा २३ लाख मानिस विस्थापित भएका छन् भने अहिलेसम्म ४३ हजार ७ सय ९९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।