ट्रम्पले युद्ध चाँडै अन्त्य गर्न चाहेकोमा विश्वस्त छु : भोलोदिमिर जेलेन्स्की

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
ट्रम्पले युद्ध चाँडै अन्त्य गर्न चाहेकोमा विश्वस्त छु : भोलोदिमिर जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पको नेतृत्वमा अमेरिका बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ । हंगेरीको बुडापेस्टमा युरोपेली देशका नेताहरुको बैठकमा जेलेन्स्कीले यस्तो बताउनुभएको हो ।

जेलेन्स्कीले युरोपले बलियो अमेरिका चाहेको उल्लेख गर्दै दुवै सहयोगीबीचको सम्बन्ध थप बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

समाचार एजेन्सी एएफपीका अनुसार जेलेन्स्कीले रुसी राष्टपति भ्लादिमिर पुटिनलाई कुनै पनि सहुलियत दिनु युक्रेनका लागि अस्वीकार्य र पूरै युरोपका लागि आत्मघाती हुने स्पष्ट पार्नुभयो ।

यस्तै, उत्तर कोरियाली सेना किभका सेनासँगको लडाईंमा हताहत भएको र रुसको कुर्स्क क्षेत्रमा पठाइएका ११ हजार सेनामध्ये केहीले युद्धमा भाग लिएको जेलेन्स्कीले आरोप लगाउनभएको छ । प्रतिक्रियामा आफूहरुले कारबाही नगरे थप उत्तर कोरियाली सेना रुसको पक्षमा तैनाथ हुने जेलेन्स्कीले विश्वास व्यक्त गर्नुभएको छ ।

रुससँग युद्धविरामबारे सोधिएको प्रश्नको जवाफ दिँदै जेलेन्स्कीले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा सहमति नगरी युद्धविराम गर्ने विषयले युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ता बर्बाद हुने प्रतिक्रिया दिनुभयो । उहाँले युद्धविराममा सुरक्षा ग्यारेन्टी नभए यसले रुसलाई युक्रेनी भूमि कब्जा गर्न प्रोत्साहित गर्ने बताउनुभएको छ ।

जेलेन्स्कीले युद्धलाई छिट्टै अन्त्य गर्ने ट्रम्पको योजनाबारे आफूलाई जानकारी नभएको र आफूले यसबारे अमेरिकासँग अहिलेसम्म छलफल नगरेको स्पष्ट पार्नुभएको छ । जेलेन्स्कीले ट्रम्पले युद्ध चाँडै अन्त्य गर्न चाहेकोमा आफू विश्वस्त रहेको बताउनुभएको छ । अमेरिकामा मंगलबार भएको निर्वाचनमा कमला ह्यारिसलाई हराउँदै ट्रम्प चार वर्षपछि फेरि अमेरिकाको राष्ट्रपति चयन हुनुभएको छ ।

टम्पले आगामी वर्षको जनवरी २० बाट राष्टपतिको आफ्नो औपचारिक कार्यभार सम्हाल्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement