काठमाडौं । भारतको जम्मु कश्मिर विधानसभामा राज्यलाई विशेष अधिकार दिने संविधानको धारा ३७० र ३५ ए पुनर्बहालीको विषयलाई लिएर बीजेपी र नेशनल कन्फरेन्सका सांसदहरुबीच हात हालाहाल भएको छ ।
हिजो विधानसभाले संविधानको धारा ३७० र ३५ ए पुनर्बहालीसम्बन्धी एउटा प्रस्ताव पारित गरेको थियो । सो प्रस्तावप्रति असन्तुष्ट रहँदै बीजेपीका सांसदहरुले आज विधानसभा सुरु भएलगत्तै विरोध जनाएका थिए । विपक्षी नेता तथा बीजेपी विधानसभा सदस्य सुनिल शर्माले कडा शब्दमा उक्त प्रस्तावको विरोध गरिरहँदा अवामी इत्तेहाद पार्टीका नेता तथा विधानसभा सदस्य शेख खुर्सिद वेलभित्र पुगेर धारा ३७० र ३५ ए पुनर्बहाली गरिनुपर्ने भनेर लेखिएको ब्यानर प्रदर्शन गरेपछि विवाद चर्किएको थियो ।
त्यसलगत्तै बीजेपीका सदस्यहरुले पनि वेलभित्र पसेर ब्यानर च्यातेका थिए । दुवै पक्षबीच हात हालाहाल भएको थियो भने सभामुखले उनीहरुलाई त्यहाँबाट हटाउन मार्शललाई आदेश दिएका थिए । सो क्रममा बीजेपी विधानसभा सदस्य र मार्शलबीच पनि हात हालाहाल भएको थियो । विवाद साम्य नभएपछि सभामुखले बैठक स्थगित गर्नुपरेको थियो ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने संविधानका दुई धारा ३७० र ३५ ए खारेज गरेको थियो । त्यसको केही दिनमा राज्यलाई जम्मु कश्मिर र लद्दाख दुई राज्यमा विभाजित गर्दै दुवैलाई केन्द्र शासित प्रदेश बनाइएको थियो । विशेष राज्यको दर्जा खारेजीपछि जम्मु कश्मिरमा यसैवर्षको सेप्टेम्बरदेखि अक्टोबरसम्म गरी तीन चरणमा विधानसभा निर्वाचन भएको थियो ।
निर्वाचनमा विधानसभाका ९० सिटमध्ये इण्डिया गठबन्धनमा रहेको जम्मु कश्मिर नेशनल कन्फ्रेन्स एक्लैले ४२ सिट जितेको थियो भने बीजेपीले २९ सिट जितेको थियो ।