जर्मनीका चान्सलर स्कोल्जले अर्थमन्त्री बर्खास्त गरेसँगै सरकार अल्पमतमा

कार्तिक २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
जर्मनीका चान्सलर स्कोल्जले अर्थमन्त्री बर्खास्त गरेसँगै सरकार अल्पमतमा

काठमाडौं । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारमा रहेका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई बर्खास्त गर्नुभएको छ । लिन्डनरको बर्खास्तीसँगै जर्मनी सरकार अल्पमतमा परेको छ । यसले अर्ली इलेक्सनको सम्भावनालाई तीव्र बनाएको छ ।

स्कोल्जले बजेट र फर्जी मुद्दाका लागि ल्याइएको कानुन पारित गर्ने विषयमा अवरोध पुर्‍याएको कारण अर्थमन्त्री लिन्डनरलाई पदबाट बर्खास्त गरेको बताउनुभएको हो । स्कोल्जको यस कदमले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा राजनीतिक अस्थिरता निम्त्याएको छ । डनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय चुनाव जितेको केही घण्टापछि भएको यो घटनाले जर्मनीमा अर्ली इलेक्सनको अवस्था सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बर्खास्त गरिएका अर्थमन्त्री भने फ्रि डेमोक्र्याट पार्टी (एफडीपी)का सासंद हुनुहुन्थ्यो । जर्मनीमा संसद्‌मा चान्सलर स्कोल्जको पार्टी-समाजबादी लोकतन्त्र पार्टी-फ्रि डेमोक्र्याट पार्टी र सोशल डेमोक्र्याट-ग्रिन्सबीच गठबन्धन थियो । स्कोल्जको पार्टी एसडीपीसँग दुई सय ७, ग्रिन्ससँग एक सय १७ र एफडीपीसँग ९१ सिटको स्पष्ट बहुमत थियो । तर, उहाँको बर्खास्तीसँगै एफडीपीले समर्थन फिर्ता लिएपछि चान्सलर स्कोल्जको सरकार अल्पमतमा परेको छ ।

चान्सलर स्कोल्जले जनवरी १५ मा विश्वासको मत लिने बताउनुभएको छ । जर्मनीमा ७ सय ३३ सिट रहेको तल्लो सदनमा विश्वासको मत लिन ३ सय ६७ मत चाहिन्छ । बजेट नीति र जर्मनीको आर्थिक दिशालाई लिएर गठबन्धनका साझेदारहरूसँगको विवादले स्कोल्जको नेतृत्वमा रहेको सरकारको लोकप्रियता घटाएको छ भने अति दक्षिणपन्थी र अति वामपन्थी दलहरूलाई आफ्नो लोकप्रियता बढाउने अवसर दिएको छ । सत्ता गठबन्धनमा विवादपछि अहिलेको सरकार ११ महिनापछि हुन लागेको निर्वाचनसम्म कायमै रहने वा ढल्ने अड्कलबाजी सुरु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.