कस्तो रहला अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्पको दोस्रो कार्यकाल ?

कार्तिक २१, २०८१ |हरहरि उपाध्याय
कस्तो रहला अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्पको दोस्रो कार्यकाल ?

काठमाडौं । अमेरिकामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी भएसँगै ४७ औं राष्ट्रपतिका रुपमा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको ह्वाइट हाउसमा ऐतिहासिक पुनरागमन हुने भएको छ । डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन उम्मेदवार ट्रम्प विजयी हुनु भएको हो ।

राष्ट्रपति पदमा विजयी हुन आवश्यक पर्ने २७० इलेक्टोरल भोट पार गर्न सफल भएसँगै ट्रम्पको ह्वाइट हाउस पुनरागमनको बाटो खुलेको हो । ट्रम्पले आगामी जनवरी २० मा सत्ता सम्हालेपछि अमेरिकाको आन्तरिक र विश्व राजनीतिमा के–कस्तो प्रभाव पार्ला त ?

निकै उथलपूर्ण प्रचार प्रसार, चार वटा फौजदारी मुद्दा र दुई पटकको हत्या प्रयासबाट जोगिँदै र कमला ह्यारिससँगको कडा प्रतिस्पर्धालाई छिचोल्दै ७८ वर्षीय ट्रम्प राष्ट्रपति पदमा पुन:निर्वाचित हुन सफल हुनु भएको हो । आफूले जित्ने निश्चित भएपछि फ्लोरिडामा आफ्ना उत्साहित समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकी जनताले आफूलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको बताउनु भयो । साथै उहाँले विगत चार वर्षका विभाजनलाई पछाडि छाडेर अब एकताबद्ध हुनुपर्ने समय आएको समेत उल्लेख गर्नुभयो ।

तर के ट्रम्पले भने झैं राजनीतिक रुपमा ध्रुवीकृत अमेरिकी समाजलाई एकताबद्ध बनाएर अघि लैजान ट्रम्पलाई सहज होला भनेर यसै भन्न सकिने अवस्था छैन । २०२०को निर्वाचनमा भएको पराजयलाई अस्वीकार गर्दै चुनावमा धाँधली भएको झुठा दाबीसहित आफ्ना समर्थकलाई ६ जनवरी २०२१ मा संसद् भवनमा आक्रमण गर्न उक्साउनु भएका ट्रम्पको राजनीति समाप्त भएको आँकलनलाई भने उहाँले गलत साबित गरिदिनु भएको छ ।

यसपटकको निर्वाचनमा मतदाताले रोजगारी र देशको खस्कँदो आर्थिक अवस्थालाई जल्दोबल्दो मुद्दाका रुपमा पहिचान गरेर ट्रम्पको पक्षमा मतदान गरेको रोयटर्स र इप्ससले गरेको प्रक्षेपणले देखाएको छ । यस अर्थमा बेरोजगारी हटाउनु र देशको अर्थतन्त्र उकास्नु ट्रम्पको मुख्य चुनौती हुने देखिन्छ । ट्रम्पको विजयले चीनसँगको अमेरिकी व्यापार र जलवायु परिवर्तनका मुद्दाका साथै रुस–युक्रेन युद्ध, इजरायल–हमास र हिजबुल्लाह युद्धलगायतका विषय कसरी अगाडि बढ्छन्, चासोको विषय रहने छ ।

इजरायल–हमास युद्ध अन्त्य गर्न ट्रम्पको कस्तो भूमिका हुनेछ ? गाजाका प्यालेष्टिनीमाथिको इजरायलको नरसंहार थप बढेर जाने त होइन ? यो अर्को चिन्ताको विषय हुनेछ । त्यस्तै रुस-युक्रेन युद्धले कस्तो मोड लेला ? के ट्रम्पले युक्रेनलाई दिंदै आएको सैन्य सहायतालाई निरन्तरता दिनुहुनेछ ? के युक्रेनलाई रुसले कब्जा गरेको भूभाग उसैलाई छाडेर सहमति गर्न दबाब दिनुहुनेछ ? विश्वकै लागि पर्खाइको विषय बनिरहेका छन् ।

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनसंगको ट्रम्पको सम्बन्ध कसरी अघि बढ्ला र चीन–ताइवान बीचको सम्भावित तनावमा ट्रम्पले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ यसको पूर्वानुमान गर्न कठिन छ । ट्रम्पले आफू विजयी भएपछि देशमा रहेका अवैधानिक आप्रवासीलाई सामूहिक रुपमा देश निकाला गर्ने अभियान सञ्चालन गर्ने बताउनु भएको थियो ।

त्यसको मारमा अमेरिकामा रहेका अन्य देशका साथै नेपाली आप्रवासीको अवस्था के हुन्छ ? यो पनि चिन्ता र चासोको विषय रहने छ । यस्तै गर्भपतन अधिकार पुनर्स्थापित हुनु पर्ने माग राख्दै आएका अमेरिकी महिलाले के कस्ता समस्या सामना गर्नु पर्नेछ ? त्यो पनि अर्को चिन्ताको विषय रहने छ ।

ट्रम्पको शासनकालको दोस्रो इनिङ अर्थात् ट्रम्प २.० भर्सनमा अमेरिकी जनता र विश्वले अपेक्षितभन्दा अनपेक्षित कुराको सामना बढी गर्नु पर्ने सम्भावना भने टड्कारो रहेको केही विश्लेषकहरुको धारणा रहेको छ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement