काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा रिपब्लिकन पार्टीका उम्मेदवार डनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिस चुनावी अभियानको अन्तिम चरणको दौडधुपमा व्यस्त छन् ।
दुवै उम्मेदवारले स्वीङ स्टेटहरुमा आफ्नो अभियानलाई केन्द्रित गरेका छन् । प्रचारका क्रममा उम्मेदवारहरुबीच एक अर्कामाथि आरोप-प्रत्यारोप लगाउन कुनै कसर बाँकी राखेका छैनन् ।
स्वीङ स्टेट मिसिगनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले डेमोक्रेटिक उम्मेदवार ह्यारिसले चुनाव जिते अमेरिकी नागरिकलाई काम पाउन निकै कठिन हुने चेतावनी दिनुभएको छ । उहाँले स्टेलान्टिस नामक अटोमेकर कम्पनीले अमेरिकाबाट मेक्सिकोमा जागिर सार्न प्रयास गरे आफूले सो कम्पनीमाथि शत प्रतिशत ट्यारिफ लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ट्रम्पले मुस्लिम र लेबनानी समुदायसँगको आफ्नो सम्बन्धको बारेमा बताउँदै उनीहरूको बीचमा आफ्नो लोकप्रियता र उनीहरूको भोट सुरक्षित गर्ने अपेक्षा आफूले राखेको स्पष्ट पार्नुभयो ।
अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प र ह्यारिसको अर्थतन्त्रको नीतिबारे बहस चलिरहेको बेला कमला ह्यारिसले एक र्यालीमा निर्माण समुदायमा लगानी गर्ने बाचा गर्नुभएको छ । उहाँले मध्यमवर्गीय परिवारका लागि कर कटौती गर्ने आफ्नो प्रतिवद्धतालाई दाहोर्याउनुभयो । त्यस्तै ह्यारिसले बालबालिका हेरचाहका लागि आर्थिक सहायता प्रदान गर्ने विषयमा जोड दिनुभएको छ ।
ह्यारिसले जेन-जी पुस्तासँग आफ्नो लगाव रहेको बताउनुभयो । जेन जी पुस्ताले बन्दुक राख्ने कानुन र जलवायु संकट जस्ता समस्यामा सुधारका लागि उत्सुक भएको आफूलाई थाहा भएको भन्दै उनीहरुको मत आफूतिर तान्ने प्रयास गर्नुभएको छ ।
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर, त्यसअघि नै करिब ६ करोड ८ लाख अमेरिकी मतदाताले मताधिकारको प्रयोग गरिसकेका छन् । यी मतदाताले हुलाक वा व्यक्तिगत रूपमा मतदान गरेका हुन् । तर, हुलाकबाट भएको मतदानका कारण निर्वाचनको परिणाम आउन ढिलाइ हुने अनुमान गरिएको छ ।
त्यस्तै सीएनएनको सर्वेक्षण अनुसार दुवै प्रमुख उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । फरक फरक राज्यमा गरिएको सर्वेक्षण अनुसार दुवै उम्मेदवारबीच एक अंकको अन्तर देखिएको छ ।