काठमाडौं । युद्ध भड्किने विषयलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मध्यपूर्वमा उपस्थिति बढाउन थप बमवर्षक विमानहरू पठाएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै एउटा विमान र युद्धपोतहरू मध्यपूर्वतर्फ प्रस्थान गर्ने तयारीमा रहेको बताइएको छ ।
रक्षामन्त्री अस्टिनले धेरै संख्यामा बी–फिप्टी टु बमवर्षक विमान, ट्याङ्कर विमान र नौसेनाका हतियारहरु मध्यपूर्वमा तैनाथ गर्न आदेश दिनुभएको अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ । गाजामा हमास र लेबनानमा हिजबुल्लाहसँग इजरायलको संघर्ष चलिरहेका बेला अमेरिकाले मध्यपूर्वमा उपस्थिति बढाएको हो ।
युद्धविरामको दबाब बढिरहेका बेला इजरायलले भने युद्धविराम तत्कालै सम्भव नरहेको टिप्पणी गरेको छ । अमेरिकाले भने इजरायलको रक्षा गर्न सधै तयार रहेको बताउँदै आएको छ ।