काठमाडौं । क्यानडाको जस्टिन ट्रुडो सरकारले आफ्नो आधिकारिक दस्तावेजमा पहिलो पटक भारतलाई ‘शत्रु देश’को सूचीमा समावेश गरेको छ ।
क्यानडाका लागि नेशनल साइबर थ्रेट एसेसमेन्ट २०२५/२६ रिपोर्टमा भारतलाई जोखिमपूर्ण देशहरूको सूचीमा राखिएको छ । प्रतिवेदन क्यानडाको साइबर सेक्युरिटी सेन्टरले सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियासँगै भारतलाई ‘राज्य विरोधी’ सूचीमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै प्रतिवेदनमा क्यानाडाविरुद्ध भारतलाई आधुनिक साइबर कार्यक्रमको आरोप समेत लगाइएको छ । भारत सरकारद्वारा प्रायोजित साइबर कार्यक्रमले क्यानडाको सरकारी नेटवर्कहरूविरुद्ध जासुसीको उद्देश्यले गतिविधि गर्न सक्ने भन्दै भारतलाई उक्त सूचीमा राखिएको प्रतिवेदनमा उल्लेख छ । क्यानडा र भारत बीचको आधिकारिक द्विपक्षीय सम्बन्धका कारण भारत सरकारद्वारा प्रायोजित साइबर कार्यक्रम गतिविधिलाई बढावा मिल्ने समेत प्रतिवेदनमा उल्लेख छ ।
भारत साइबर क्षमताको साथ आधुनिक साइबर कार्यक्रम निर्माण गर्न निश्चित रूपमा चाहेको र राष्ट्रिय सुरक्षा आवश्यकताहरू बढाउन आफ्नो साइबर कार्यक्रम प्रयोग गर्ने अत्याधिक सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । क्यानडाले यसअघि अक्टोबरमा क्यानडाले भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मालाई हरदीप सिंह निज्जर हत्या प्रकरणमा संलग्नता देखिएको घोषणा गरेको थियो ।
त्यसपछि भारतले वर्मासहित ६ कूटनीतिज्ञलाई फिर्ता बोलाएको थियो । योसँगै नयाँ दिल्लीले ६ क्यानडेली कूटनीतिज्ञलाई पनि निष्कासन गरेको थियो । भारतले यी आरोपहरूलाई बेतुका भन्दै यसलाई जस्टिन ट्रुडोको घरेलु भोट बैंकलाई खुसी पार्नको लागि उठाएको कदम भनेको थियो।