राष्ट्रसंघको महासभाले कसरी गर्छ काम ?

आश्विन ९, २०८१ |प्रभात सिंह
राष्ट्रसंघको महासभाले कसरी गर्छ काम ?

काठमाडौं । सन् १९४५ मा स्थापना भएको राष्ट्रसंघमा हाल एक सय ९३ राष्ट्र सदस्य छन् । स्थापना भएकै वर्ष राष्ट्रसंघले ६ वटा महत्वपूर्ण अंगको निर्माण गर्यो, जसले शान्ति सुरक्षा, मानवअधिकार संरक्षण, दिगो विकासलगायतका अन्तर्राष्ट्रिय चासोका मुद्दाहरुलाई उठाउने र त्यसमाथि काम गर्ने गर्छ । त्यसमध्येको एक हो राष्ट्रसंघको महासभा अर्थात् ‘जनरल एसेम्ब्ली’ ।

यसले विश्वको राष्ट्र प्रमुखहरुलाई आमन्त्रण गरी आफ्ना विषय राख्न र अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्न अवसर प्रदान गर्छ । अहिले भइरहेको महासभा ७९ औं हो ।

महासभा अर्थात् जनरल एसेम्ब्ली संयुक्त राष्ट्रसंघको ६ महत्वपूर्ण अंगमध्ये एक हो । यो छलफल र नीति निर्माणजस्ता कार्यहरूका लागि जिम्मेवार हुने गर्छ । महासभामा राष्ट्रसंघका एक सय ९३ सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुले प्रतिनिधित्व गर्ने गर्छन् भने प्यालेस्टाइन र होली सी लाई सदस्य नभए पनि पर्यवेक्षकका रुपमा सहभागी हुन्छन् ।

महासभा प्रत्येक वर्ष सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा आयोजना हुने गर्दछ, जसमा शान्ति सुरक्षा तथा समसायिक विश्व परिस्थितिका बारेमा बहस गरिन्छ । तर, नयाँ सदस्यता दिने, मानव अधिकार परिषद्का सदस्य चयन गर्ने, तथा सुरक्षा परिषद्का गैर-स्थायी सदस्यको निर्वाचन लगायतका महत्वपूर्ण विषयमा भने अलग्गै बैठक बसेर निर्वाचन प्रक्रियाबाट निर्णय लिइन्छ । यस्तै, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा तथा युद्धका विषयमा कुनै राष्ट्रको आग्रह तत्काल सुरक्षा परिषद्को बैठक बोलाएर निर्णय लिइन्छ । तर, सुरक्षा परिषद्का ५ स्थायी सदस्य मुलुकहरु फ्रान्स, रुस, चीन, बेलायत र अमेरिकामध्ये कुनै एकले उक्त प्रस्तावलाई भिटो प्रयोग गरेर अस्वीकृत गर्न सक्छन् ।

महासभाको अध्यक्ष प्रत्येक वर्ष महासभाबाट चुनिने गर्दछ । जसको कार्यकाल एक वर्षको हुने गर्दछ । र, चुनिएकै अध्यक्षको नेतृत्वमा महासभा अयोजना हुने गर्दछ । यसवर्ष क्यामरुन अध्यक्षमा चुनिएको छ । 

महासभाको मुल उद्देश्य निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक तथा वित्तीय नीति लागू गर्ने, सामाजिक, मानवीय तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने, विशेष राजनीतिक र उपनिवेशीकरण भएका क्षेत्रहरुलाई स्वतन्त्र बनाउने लगायत रहेको छ । यी विषयहरुका लागि राष्ट्रसंघीय समिति गठन गर्ने गरिन्छ । ती समितिहरुले आफ्ना जिम्मेवारी कार्यान्वयन गर्ने प्रयास गर्छन् । यस वर्ष महासभाको मूल उद्देश्य भनेको ‘कोही पनि पछाडि नछुटुन्’ हो । यस पटक मध्यपूर्वमा चकिएको युद्ध, जलवायू संकट, दिगो विकास, भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माणजस्ता मुद्दामा बहस भइरहेका छन् ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement