काठमाडौं । भारतका विभिन्न स्थानमा भारी वर्षापछि आएको बाढीमा परेर २६ जनाको मृत्यु भएको छ ।
हिमाचल प्रदेशमा ११, उत्तराखण्डमा १० र दिल्लीमा पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीमा परेर हिमाचलमा मात्रै ५२ जना बेपत्ता भएका छन् । उत्तराखण्डमा पैदलमार्ग हुँदै केदारनाथ जाँदै गरेका दुई सय यात्रु सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । उत्तराखण्ड प्रहरीले केदाननाथ यात्रालाई तत्काल स्थगित गर्न आग्रह गरेको छ ।
यसैगरी हिमाचलको सिमलासँगै मन्डी र मुल्लु क्षेत्र बाढीले अत्यधिक प्रभावित भएका छन् । मन्डी जिल्ला प्रशासन कार्यालय र दिल्ली सरकारले विद्यालयसमेत बन्द गर्न निर्देशन दिएको छ । भारी वर्षाका कारण हिमाचलमा थुप्रै घर, सडक, राजमार्ग र दुई जलविद्ययुत् आयोजनामा क्षति पुगेको बताइएको छ ।
राज्य सञ्चालित मौसम विज्ञान विभागले हिमाचलको प्रसिद्ध पर्यटकीय गन्तव्य धर्मशालामा गत २४ घण्टामा १८३ मिलिमिटर वर्षा मापन गरेको जनाएको छ । यस्तै दिल्लीमा १४७ मिलिमिटर वर्षा मापन भएको छ । वर्षाका कारण दिल्लीका विद्यालयहरु बन्द गरिएका छन् ।
यता केरलको वायनाडमा तीन दिनअघि भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २८० पुगेको छ ।