अमेरिकामा बाइडनलाई राष्ट्रपतिको चुनावी दौडबाट पछि हट्न दबाब बढ्दै

प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुतिले बाइडनको कार्यक्षमतामाथि आफ्नै दलमा उठ्यो प्रश्न
असार १९, २०८१ |हरहरि उपाध्याय
अमेरिकामा बाइडनलाई राष्ट्रपतिको चुनावी दौडबाट पछि हट्न दबाब बढ्दै

काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुने प्रयासमा रहनुभएका ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडनमाथि चुनाव नलड्न दबाब बढ्दै गएको छ । डेमोक्र्याटिक पार्टीका सांसदहरूले नै उहाँ शारीरिक र मानसिक रूपमा फिट नभएको भन्दै दबाब बढाइरहेका छन् । अघिल्लो साता राष्ट्रपति पदका अर्का प्रत्याशी ७८ वर्षीय डनल्ड ट्रम्पसँगको सार्वजनिक बहसमा कमजोर प्रस्तुतिपछि बाइडन चुनावी प्रतिस्पर्धाबाटै बाहिरिनु पर्ने धारणा व्यक्त भइरहेको हो । 

अमेरिकी राष्ट्रपति जो बाइडनका नजिकका मानिएका टेक्सस राज्यका सांसद लोयड डगेटले सार्वजनिक रूपमै बाइडनलाई चुनावी दौडबाट पछि हट्न आह्वान गरेपछि अमेरिकी राजनीति तर‌ंगित बनेको छ ।  डगेटले मंगलबार वक्तव्य जारी गर्दै बाइडनले आफ्नो उम्मेदवारी फिर्ता लिने आशा लिएको बताउनु भएको थियो । डगेटमात्रै होइन संघीय संसद-हाउस अफ रेप्रिजेन्टेटिभ्सका २५ डेमोक्र्याट सांसदले आगामी दिनमा पनि कमजोर देखिएमा बाइडनलाई चुनावी प्रतिस्पर्धाबाट बाहिरिन सार्वजनिक आहृवान गर्ने तयारी गरेको रोयटर्सले उल्लेख गरेको छ । 

पछिल्लो साताको प्रेसिडेन्सियल डिबेटपछि केही चुनावी चन्दादाताले पनि बाइडनलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन् । केही डेमोक्र्याटहरुले भने आगामी नोभेम्बरमा हुने निर्वाचनमा बाइडनले ट्रम्पलाई पराजित गर्न नसक्ने भन्दै खुलेरै चिन्ता व्यक्त गर्न थालेका छन् । गत साताको राष्ट्रपतीय निर्वाचन बहस-"प्रेसिडेन्सियल डिबेट" लगत्तै रोयटर्स र इप्ससले संयुक्त रूपमा गरेको मत सर्वेक्षणमा प्रत्येक तीनमध्ये एक जना डेमोक्र्याटले बाइडनले पुनर्निर्वाचन प्रयास अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

केही डेमोक्र्याटहरुले प्रतिस्पर्धाबाट बाहिरिने वा नबाहिरिने निर्णय गर्ने बाइडनको स्वविवेकको कुरा भएको तर उहाँ आफैँप्रति इमानदार हुनुपर्ने र पार्टीको बृहत्तर भविष्यलाई विचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सन् २०२० मा राष्ट्रपति पदमा बाइडनको मनोनयन सुरक्षित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका साउथ क्यारोलाईनाका डेमोक्र्याट सांसद जिम क्लाइबर्नले मंगलवार एमएसएनबीसी न्युजसँग कुरा गर्दै बाइडनले आफ्नो नाम फिर्ता लिएको अवस्थामा आफूले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने बताउनु भएको छ । डेमोक्रेट सांसदहरू ज्यारेड गोल्डेन र मरी परेजले त बाइडन र ट्रम्प भिडेको अवस्थामा ट्रम्पले जित हात पार्ने प्रक्षेपण नै गरेका छन् । 

यता भर्जिनियामा आयोजित एउटा चुनावी अभियानमा बाइडनले लामो हवाई यात्राको थकान र निद्राको कमीका कारण प्रेसिडेन्सियल डिबेटमा आफ्नो प्रस्तुति कमजोर हुन गएको सफाइ दिनुभएको छ । आफ्नो सम्बोधनमा उहाँले उक्त बहसका क्रममा आफू स्टेजमै झन्डै निदाएकोसम्मको अभिव्यक्ति दिनुभएको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन अगस्ट १९ देखि २२ सम्म शिकागोमा आयोजना हुँदै छ । सोही सम्मेलनले नै नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक रूपमा पार्टीका उम्मेदवारको नाम मनोनयन गर्नेछ । चुनाव नलड्न दबाब परिरहेको अवस्थामा बाइडनले कस्तो निर्णय गर्नुहुन्छ र ट्रम्पसँग  भिड्न अन्य डेमोक्र्याट उम्मेदवार चयन हुन्छन् कि हुँदैनन् ? त्यसका लागि भने केही समय कुर्नै पर्छ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।