बेलायतमा तल्लो सदनको ६ सय ५० सिटका लागि आज मतदान हुँदै

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायतमा तल्लो सदनको ६ सय ५० सिटका लागि आज मतदान हुँदै

काठमाडौं । बेलायतमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । बेलायतको ‘हाउस अफ कमन’ अर्थात् तल्लो सदनको ६ सय ५० सिटका लागि आज मतदान हुन लागेको हो । त्यहाँको समयअनुसार मतदान बिहान ७ बजेबाट सुरु भएर राति १० बजेसम्म जारी रहने छ ।

मतदान सकिएलगत्तै मतगणना हुनेछ । शुक्रबार बिहानसम्म अधिंकाश मतपरिणाम सार्वजनिक हुने आपेक्षा गरिएको छ । यस पटकको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टी र लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कन्जरभेटिभ पार्टीको नेतृत्व ऋषि सुनकले गरिरहनुभएको छ भने लेबर पार्टीको नेतृत्व किर स्टर्मरले गरिरहनुभएको छ । चुनाव हुनुअघि भएको सर्वेक्षणहरुले लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिरहेका छन् भने १४ वर्षपछि सत्तारुढ कन्जरभेटिभ पार्टीले चुनावमा विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमान गरिएको छ ।

यस पटकको निर्वाचनमा भने कन्जरभेटीभका ऋषि सुनक, लेबरका किर स्टर्मर र रिफर्म युके पार्टीका प्रमुख निकेल फराजमाथि विश्वकै नजर हुने छ । ६ सय ५० सिटका लागि हुने मतदानमा बहुमतका लागि ३ सय २६ सिट आवश्यक पर्नेछ । यसअघिको हाउस अफ कमनमा कन्जरभेटिभ पार्टीको ३ सय ४४ सिट थियो भने लेबर पार्टीको २ सय ५ सिटमात्र थियो ।

बेलायती प्रधानमन्त्री सुनकले गत मे महिनामा समय अगावै आम निर्वाचनको मिति घोषणा गर्नुभएको थियो । नोभेम्बरमा हुने भनिएको आम निर्वाचन ४ जुलाईमा घोषणा गरिएपछि त्यहाँका जनता आश्चर्य चकित परेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.