इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका वरिष्ठ कमान्डर

बदलामा हिजबुल्लाहद्वारा इजरायलतर्फ एक सय रकेट प्रहार
गाजा युद्ध अन्त्य नभएसम्म आक्रमण जारी राख्ने चेतावनी
असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका वरिष्ठ कमान्डर

काठमाडौं । इजरायली सेनाले लेबनानको सशस्त्र समूह हिजबुल्लाहका वरिष्ठ कमान्डर मारेको दाबी गरेको छ । हिजबुल्लाहले २ जुलाईमा २० रकेट प्रहार गरेको बदलामा इजरायली सेनाले हिजबुल्लाहका वरिष्ठ कमान्डर मोहम्मद नासार लक्षित आक्रमण गर्दा उनको मृत्यु भएको हो । दक्षिण लेबनानमा हिजबुल्लाहका वरिष्ठ कमान्डर मोहम्मद नासार चढेको गाडीमा इजरायली सेनाले आक्रमण गर्दा उनको गाडीमै मृत्यु भएको इजरायलले पुष्टि गरेको हो । मारिएका नासार हिजबुल्लाह समूहको उच्च श्रेणीका कमान्डर रहेको हिजबुल्लाहले जनाएको छ ।

हिजो कमान्डरको मृत्युपछि हिजबुल्लाह समूहले पनि एक सय वटा रकेट प्रहार गरेको जनाएको छ । रकेट प्रहारमा कुनै प्रकारको क्षति नपुगेको र कुनै हताहत नभएको इजरायली सेनाले जनाएको छ । कमान्डरको मृत्युले त्यहाँको आसपासको क्षेत्रमा द्वन्द्व भड्किने हिजबुल्लाहले चेतावनी दिएको छ । इजरायल र गाजाको युद्ध सुरु भएयता हिजबुल्लाह समूहले पनि सोहि दिनबाट इजरायल सेना लक्षित आक्रमण गरिरहेको छ ।

इजरायलका रक्षा मन्त्री योभ ग्यालेन्टले यदि हिजबुल्लाहले सीमावर्ती क्षेत्रमा आक्रमणलाई तिव्रता दिए आफुहरु पनि जवाफ दिन तयार रहेको स्पष्ट पारेका छन् । त्यस्तै हिजबुल्लाह समूहले पनि गाजामा युद्ध विराम नभएसम्म इजरायलमाथि आक्रमण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिका, युरोप र अरब लिगले समेत इजरायल लेबनानको सीमावर्ती क्षेत्रमा द्वन्द्व भड्किन सक्ने भन्दै दुवै पक्षलाई पछि हट्न निरन्तर दबाब दिइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.