रुसले आक्रमण तीव्र पारेपछि युक्रेनद्वारा सीमावर्ती ठाउँबाट आफ्नो सेना फिर्ता

अमेरिकी विदेशमन्त्रीद्वारा युक्रेनलाई थप २ अर्ब डलर सहयोगको घोषणा
जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसले आक्रमण तीव्र पारेपछि युक्रेनद्वारा सीमावर्ती ठाउँबाट आफ्नो सेना फिर्ता

काठमाडौं । रुसी सेनाले आक्रमण तीव्र पार्दै लगेपछि युक्रेनले सीमावर्ती खार्किभ प्रान्तको उत्तरपूर्वी क्षेत्रका थुप्रै गाउँहरुबाट आफ्ना सैनिक पछि हटाएको छ । रुसी सेनाको आक्रमणपछि उत्तरपूर्वी खार्किभका दुई क्षेत्रबाट सेना थप सुरक्षित स्थानमा सरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् ।

युक्रेनी सेनाले सीमावर्ती क्षेत्रमा भएको नयाँ अतिक्रमण रोक्न संघर्ष गरिरहेको परिप्रेक्ष्यलाई ध्यानमा राख्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै पूर्वनिर्धारित आसन्न विदेश भ्रमण स्थगित गरेको उनका प्रवक्ताले जनाएका छन् ।

रुसले सीमावर्ती खार्किभ क्षेत्रमा नयाँ मोर्चा खोलेपछि पछिल्ला दिनमा हजारौं मानिस पश्चिम दिशातर्फ, खासगरी खार्किभ सहरतर्फ पलायन भएका छन् । रुसी सेनाले चाँडै नै सीमावर्ती नगरहरु भोभचान्स्क र लुक्यान्त्सी कब्जामा लिन सक्ने जनाइएको छ । यी दुई नगरहरु माथिको सम्भावित रुसी कब्जा सैन्य हिसाबले महत्वपूर्ण नभए पनि युक्रेनी मनोबलका लागि भने यो धक्का हुने बताइएको छ । रुसी सेनाले गत शुक्रबारबाट खार्किभ क्षेत्रमा आक्रमण सुरु गरेको हो ।

यसैबीच किएभ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनका लागि थप २ अर्ब डलर सहयोगको घोषणा गरेका छन्। अमेरिकी संसद्ले गत महिना मात्रै युक्रेनका लागि ६१ अर्ब डलरको सैन्य र आर्थिक सहायता प्याकेज पारित गरेको थियो । संसदले सहायता प्याकेज पारित गरेयता युक्रेन पुग्ने ब्लिन्केन पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.