कफ सिरप निर्यातअघि अनिवार्य परीक्षण गर्न भारत सरकारको निर्देशन

जेष्ठ ९, २०८०
कफ सिरप निर्यातअघि अनिवार्य परीक्षण गर्न भारत सरकारको निर्देशन

नयाँदिल्ली । भारत सरकारले औषधि निर्यातअघि अनिवार्य रुपमा गुणस्तर परीक्षण गर्न खोकीको झोल औषधि (कफ सिरप) निर्माता कम्पनीहरुलाई निर्देशन दिएको छ ।

आगामी जुन १ देखि लागु हुने यस व्यवस्थाअन्तर्गत औषधि उत्पादक कम्पनीले सरकारद्वारा अनुमति प्राप्त प्रयोगशालाबाट नमुना परीक्षण गराई विश्लेषण प्रमाणपत्र लिनुपर्नेछ । भारतीय कम्पनीले निर्माण गरेका कफ सिरपको प्रयोगका कारण द गाम्बिया र उज्बेकिस्तानमा केही बालबालिकाले ज्यान गुमाएको तथ्य बाहिर आएपछि सरकारले यो निर्देशन लागु गरेको हो ।

उक्त विवादले विश्वको तेस्रो ठूलो औषधि निर्माता मुलुक भारतको औषधि उत्पादन उद्योगमा एक किसिमको नैराश्यता छाएको थियो । उक्त घटना सार्वजनिक भएपछि भारत सरकारले थुप्रै औषधि निर्माता कम्पनीका उत्पादनको छानबिन गरेको थियो । यसै क्रममा सरकारले गत मार्चमा मात्रै मेरिअन बायोटेकको उत्पादन अनुमतिपत्र नै रद्द गरेको थियो । उक्त कम्पनीको कफ सिरपका कारण उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

उता द गाम्बियामा पनि भारतको मेडन कम्पनीद्वारा उत्पादित चारथरिका कफ सिरपको प्रयोगका कारण ५ वर्षमुनिका बालबालिको मिर्गौलामा गम्भीर संक्रमण देखिएको र यसबाट ६९ बालबालिकाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको थियो । त्यसलगत्तै विश्व स्वास्थ्य संगठनले ती चार थरिका कफ सिरप प्रयोग नगर्न विश्वव्यापी चेतावनी नै जारी गरेको थियो । पछि भारत सरकारले परीक्षणका क्रममा ती औषधि गुणस्तरीय नै रहेको पाइएको दाबी गरे पनि विश्व स्वास्थ्य संगठनले त्यसलाई अस्वीकार गरेको थियो ।

मेडन कम्पनीले निर्माण गरेका ती चार कफ सिरपमा प्रोमेथा जाइन ओरल सोलुसन, कोफेक्स मेलिन बेबी कफ सिरप, मेकअफ बेबी कफ सिरप र मेग्रिप एन कोल्ड सिरप छन् ।