
काठमाडौं । आज विश्व क्षयरोग दिवस ।
हरेक वर्ष मार्च २४ तारिकमा क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदै छ ।
यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्त्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।
देशभरका ६ हजार २ सय ४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७ सय ८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ ।