मधेश प्रदेशमा स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा अभाव

एक पालिका एक अस्पतालको सरकारी नीति कार्यान्वयन भएन
मंसिर २८, २०८२ |अनिल मिश्र
मधेश प्रदेशमा स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा अभाव

जनकपुर । एक पालिका एक सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना लागू भएको झन्डै सात वर्ष हुन लागेको छ । 

तर, मधेश प्रदेशमा यो योजना समयमा पूरा हुन नसकेका कारण आफ्नो गाउँ ठाउँमा उचित र सुलभ स्वास्थ्य सेवा नपाएर सेवाग्राही मर्कामा छन् । स्वास्थ्यकर्मीहर"लाई समेत बस्न र सेवा प्रवाहमा निकै कठिनाइ हुँदै आएको छ ।

पुर्व पश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा रहेको यो भरतपुर स्वास्थ्य चौकी हो । राजमार्गको छैउमै रहेको यस साँघुरो भवनमा गणेशमान चारनाथ नगरपालिकाले नगरस्तरीय अस्पताल सञ्चालन गर्दै आएको छ । यी ससाना कोठाभित्र नै आपतकालीन, बहिरंग, स्वास्थ्य परिक्षण ल्याव र प्रसुतीलगायतका २४ सै घन्टा स्वास्थ्यकर्मीहरूले सेवा दिँदै आएका छन् ।

मात्र १ कठ्ठा जग्गामा रहेको यस स्वास्थ्य चौकीको पुरानो कोठामा सञ्चालित बर्थिड्ग सेन्टरमा गत आर्थिक वर्षमा २ सय ५० जना महिलाले बच्चा जन्माएका थिए भने विभिन्न रोगको जम्मा १३ हजार ५ सय भन्दा बढीले स्वास्थ्य उपचार सेवा पाएका थिए । 

स्वास्थ्य चौकीका अनुसार राजमार्गको छेउमै रहे पनि दक्ष जनशक्ति र उपकरणको अभावमा सडक दुर्घटनामा परि गम्भीर घाइते भएकाहरूको उचित उपचार हुन सकेको छैन् । यस्तो अवस्थामा स्वास्थ्य सेवा दिनुपरे पनि स्वास्थ्यकर्मीहरूलाई बस्ने ठाउँको समेत अभाव छ ।

सेवाग्राहीको चाप, स्वास्थ्यकर्मीको पीडा र स्वास्थ्य संस्थाको यस्तो अवस्था रहे पनि छिटोछरितो र उचित स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले ६ वर्षअघि निर्माण कार्य सुरू भए पनि नगरस्तरीय अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन । 

२०७६ साल पुस २३ गते शिलान्यास भई ७ करोड २० लाख ९६ हजारको लागतमा निर्माण थालिएको यो अस्पताल अझै सञ्चालन हुन सकेको छैन् । जसका कारण गम्भीर प्रकृतिको स्वास्थ्य उपचारका लागि स्थानीय चर्को मूल्य तिरेर बाहिर जान बाध्य रहेको जनप्रतिनिधिकै भनाइ छ ।

तात्कालीन गोदार, बरमझीया, नवटोली, भरतपुर र रघुनाथपुर गाविसको वडा नम्बर ९ मिलेर बनेको गणेशमान चारनाथ नगरपालिका भित्रका ४५ हजार भन्दा बढी नागरिक छन् । यहाँका नागरिकका लागि १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि स्थानीय दाता केदार बहादूर सिंहले गोदारमा रहेको राजमार्ग छेउकै बहुमुल्य जग्गा दान गर्नु भएको हो । 

तीन वर्षभित्र गर्नुपर्ने काम निर्माण कम्पनीले ६ वर्ष लगाएर मात्र पूरा गरी केहि दिन अघि हस्तान्तरण गरे पनि यो अस्पताल सञ्चालनमा ल्याउन नगरपालिकासँग रकम अभाव छ । यस नगरपालिकाभित्र सञ्चालित पाँचवटा स्वास्थ्य चौकी, पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुई वटा बर्थिड्ग सेन्टरमा ४० जना स्थायी र ४१ जना करारमा कार्यरतसहित जम्मा ८१ जना विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीहरू कार्यरत छन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।