
धनकुटा । एडिस एजिप्टाइ प्रजातीको संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने डेङ्गी रोगको संक्रमण बढ्दै गएपछि धनकुटामा लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको छ ।
स्वास्थ्य कार्यालय धनकुटाको समन्वयमा जिल्ला प्रशासन, प्रहरी, नगरपालिका र स्थानीयको सयुक्त टोलीले बजार क्षेत्रका गाडी, मोटरसाइकल मर्मत केन्द्र र घर-घर पुगेर अनुगमन सुरू गरेको हो ।
चिकित्सकसहितको टोलीले पानी जम्ने भाँडा, टायर, गमला, ट्याङकी आदीमा पाइएका लार्भा नष्ट गर्न निर्देशन दिएको छ । स्वास्थ्यकर्मीहरूले डेङ्गी नियन्त्रणका लागि घर-आँगन वरिपरी पानी जम्न नदिन र लामखुट्टे प्रजनन् हुने स्थानको सरसफाइ र नष्ट गर्न आग्रह गरेका छन् ।
धनकुटा अस्पतालमा दैनिक १० जना डेङ्गी संक्रमित बिरामीहरू भर्ना हुने गरेका छन् । धनकुटामा सबै भन्दा बढी पाख्रिबास नगरपालिकामा डेङ्गी संक्रमित बिरामी फेला परेको जिल्ला अस्पताल धनकुटाका प्रमुख सन्तोष राइको भनाइ छ ।
डेङ्गी नियन्त्रणका लागि स्वास्थ्यकर्मी र प्रशासनको प्रयासमात्रै पर्याप्त नहुँने भएकाले सबै पक्षले सावधानी, सतर्कता र सरसफाइलाई ध्यान दिनुपर्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताउनु भयो ।
डेङ्गी रोकथाम र नियन्त्रणका लागि धनकुटा प्रहरीले समेत समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतना अभियान सञ्चालन गरेको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले बताउनु भयो ।
उहाँले जिल्ला प्रहरी मातहतका इलाका, चौकि र अस्थाइ बिटमार्फत पनि सर्वसाधारणमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको जोखिम, सुरक्षा र सतर्कताबारे सचेतना कार्यक्रम चलाइरहेको बताउनु भयो ।