धनकुटामा डेंगी परीक्षण कीट अभाव

भाद्र ३, २०८२ |विनोद घिमिरे
धनकुटामा डेंगी परीक्षण कीट अभाव

धनकुटा/ डेंगी संक्रमण फैलिइरहेका बेला धनकुटा अस्पतालमा परीक्षण कीट अभाव भएको छ।

डेंगी परीक्षण कीट सरकारले निशुल्क उपलब्ध गराउने ब्यबस्था छ । तर कोशी प्रदेशको स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बिराटनगरले एक महिना देखि धनकुटा अस्पतालका लागि डेंगी परीक्षण कीट उपलब्ध गराएको छैन । परीक्षण रोकिए पछि अस्पताल ब्यबस्थापन समितिले खरिद गरेको केहिथान कीट पनि सकिन लागेको छ ।

उच्च ज्वरो र डेंगीको लक्षण भएका सबै बिरामीको परीक्षण नहुँदा संक्रमण थप फैलने र बिरामी उपचारबाट बञ्चित हुने अवस्था आएको हो । अस्पताल ब्यबस्थापन समितिले खरिद गरेको कीटका लागि भने बिरामी आफैले ६ सय रुपैयाँ तिर्नुपर्छ । डेंगी कीट उपलब्ध गराउँन स्वास्थ्य कार्यालय धनकुटा कोशी प्रदेशको स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रमा पटकपटक माग र जानकारी गराइएपनि उपलब्ध हुन नसकेको धनकुटा अस्पतालका प्रमुख डाक्टर सन्तोष राईले जानकारी दिनुभयो ।

साउनमा २ सय ५० जनामा गरिएको परीक्षणमा धनकुटाका १६ जनामा डेंगी पुष्टि भएको थियो । डेङ्गी संक्रमण बढेको भन्दै स्वास्थ्य कार्यालयको समन्वयमा धनकुटा नगरपालिका र स्थानीय प्रशासनले धनकुटा बजारमा लामखुट्टेको लार्भा खोजी गरि नष्ट गर्ने अभियान संचालन गरेको छ । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।