बर्दिया । बर्दियामा असारयता स्क्रब टाइफस रोग बिरामी बढेका छन् । नवजात शिशुमा समेत संक्रमण पुष्टि भएपछि समस्या गम्भीर देखिएको छ । गुलरिया अस्पतालमा असारयता स्क्रब टाइफसका बिरामी १३ जना नवजात शिशुको उपचार भएको छ । यसबाहेक वयस्कमा पनि संक्रमण बढेको छ ।
एक महिने शिशुलाई निरन्तर ज्वरो आउने, पेट फुल्ने, जिउ दुख्नेलगायतका लक्षण देखिएपछि उपचारका लागि अभिभावकले गुलरिया अस्पताल ल्याउने गरेका छन् । परीक्षण गर्दा यस्ता नवजात शिशुमा स्क्रब टाइफस भएको पुष्टि हुने गरेको छ । गुलरिया अस्पतालमा १३ जना नवजात शिशुको स्क्रम टाइफसको उपचार भइरहेको छ ।
बर्दिया अस्पतालमा उपचारका लागि स्क्रब टाइफस रोग लागेका पुरूष र महिलाको संख्यासमेत बढ्दै गएको छ । एक सातायता ७४ जनाको रगत परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा दैनिक उपचारका लागि बहिरंग सेवाका लागि आउनको संख्या २ सय ५० भन्दा बढी रहेको तथ्यांकले देखाउँछ । ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हल्का खोकी लाग्ने र वाकवाक हुने यस रोगका मुख्य लक्षण हुन् ।
पराल, झारपात, वनजंगलमा पाइने भुसुना किराको कारणले गर्दा स्क्रब टाइपस लाग्ने गर्छ । भुसनाले टोकेको १/२ दिनपछि बिरामीमा लक्षण देखिन थाल्छन् । नवजात शिशुमा स्क्रब टाइफस लाग्नुको मुख्य कारण सरसफाइ नहुनु नै रहेको चिकित्सकले अनुमान गरेका छन् ।