धुलिखेलका नगरप्रमुखद्वारा स्वास्थ्य बीमाको पहिलो सेवा केन्द्र धुलिखेल अस्पतालमै कायम गर्न आग्रह

श्रावण ६, २०८२ |पुजन धिताल
धुलिखेलका नगरप्रमुखद्वारा स्वास्थ्य बीमाको पहिलो सेवा केन्द्र धुलिखेल अस्पतालमै कायम गर्न आग्रह

काभ्रे । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत धुलिखेल अस्पतालमा सञ्चालन हुँदै आएको पहिलो सेवा केन्द्र हटाइएको निर्णयले जनस्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै धुलिखेल नगरपालिकाका नगरप्रमुख आशोक कुमार ब्याञ्जुले सो निर्णय तत्काल सच्याउन माग गर्नुभएकाे छ।

२०७८/४/६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाइएको पत्रमार्फत उहाँले स्वास्थ्य बीमा बोर्डको मिति २०८२/३/३१ को सूचनाअनुसार पहिलो सेवा केन्द्र हटाइएको उल्लेख गर्दै त्यसले नागरिकहरूलाई सेवा लिन कठिन भएको जनाउनुभएकाे हाे ।

पत्रमा भनिएको छ, 'धुलिखेल अस्पतालबाट पहिलो सेवा लिन नपाउँदा थुप्रै नागरिकहरू रिफरसमेत पाउन सकेका छैनन्। बीमा सेवा लिन आउने धेरैजसो सेवाग्राहीहरू नगर क्षेत्रका बासिन्दा हुन्, जो दैनिक ५०० भन्दा बढीको हाराहारीमा अस्पतालमा पुग्ने गरेका छन्।”

नगरप्रमुख ब्याञ्जुले धुलिखेल अस्पतालमा उपलब्ध प्राविधिक पूर्वाधार, दक्ष जनशक्ति र सेवा प्रवाहका आधारमा पहिल्यै तोकिएको सेवा केन्द्रलाई हटाउनु औचित्यहीन रहेको जनाउँदै नागरिकहरूको हितका लागि सो निर्णय खारेज गरी पुनः धुलिखेल अस्पतालबाटै सेवा प्रवाह गर्न माग गर्नुभयाे।

पत्रको अन्त्यमा नगरप्रमुखले २०७२ सालदेखि नै धुलिखेल अस्पतालमा सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताका लागि तत्काल निर्णय परिमार्जन गर्न आग्रह गर्नुभएकाे छ।

प्रतिलिपिमा प्रदेश तथा केन्द्रका सम्बन्धित कार्यालयहरूसमेत समेटिएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।