स्वास्थ्य बीमामा रिफर भएमात्र धुलिखेल अस्पतालमा उपचार हुने

असार २७, २०८२ |पुजन धिताल
स्वास्थ्य बीमामा रिफर भएमात्र धुलिखेल अस्पतालमा उपचार हुने

काभ्रे । स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयअनुसार अब धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा योजनाबाट उपचार लिन चाहने नागरिकले प्रथम सेवा बिन्दुबाट रजिस्टर डाक्टरको रिफर भए मात्र सेवा पाउने भएका छन्। 

बोर्डले असार १९ गते पत्राचार गर्दै धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दु सूचीबाट हटाएको हो। २०७६ सालदेखि लागू भएको बिमा योजनाबाट अहिलेसम्म झण्डै १० लाखभन्दा बढीले सेवा लिइसकेका छन्। 

दैनिक १५ सयदेखि २ हजारसम्म नागरिकले धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुको रूपमा सेवा लिने गरेका थिए भने अस्पतालले ७९ करोड बीमा वापतको रकम बीमा बोर्डबाट भुक्तानी समेत लिन बाँकी रहेको छ। अस्पताल गत २०८० चैत्रसम्मको मात्र भुक्तानी पाएको छ।

धुलिखेल अस्पतालले बिहीबार पत्रकार सम्मेलनमार्फत नयाँ प्रणालीबारे जानकारी दिएको हो। अस्पतालका डा. बलराम मल्लकाअनुसार अब रिफर प्रणाली कार्यान्वयनमा आएपछि करिब ६० प्रतिशत बिरामीको चाप घट्ने छ।

स्वास्थ्य बिमा बोर्ड काभ्रेका प्रमुख मुना निरौलाले भने, 'अब सेवा प्रथम सेवा केन्द्रबाट लिने र रिफर भएमा मात्र दोस्रो तहका अस्पताल जान पाउने व्यवस्था लागू गरिएको छ। यसले सरकारी तहका सेवा केन्द्रलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।' हाल काभ्रे जिल्लामा १ लाख ९८ हजार ६ सय ६१ जना स्वास्थ्य बीमामा आवद्ध भइसकेका छन्।

हाल स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका रूपमा प्रादेशिक अस्पताल तथा स्थानीय स्वास्थ्य सेवा केन्द्रहरूलाई तोकिएको छ। नयाँ नीतिसँगै नागरिकले स्वास्थ्य बीमा सेवाबाट उपचार लिन थप प्रक्रिया र सिफारिस झेल्नु पर्ने अवस्था बनेको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।