काठमाडौं । औषधि पसलहरूबाट औषधि बाहेकका सामग्री बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ । तर नियमन अभावमा नेपालका औषधि पसलमा औषधिमात्र होइन, खाद्यसामग्रीदेखि श्रृंगारका सामग्रीसमेत पाइन्छन् । यसको नियमन गर्ने जिम्मा औषधि व्यवस्था विभागलाई छ । विभाग भन्छ - हामीसँग नियमन गर्नका लागि जनशक्तिको अभाव छ । कानुन बमोजिम औषधि पसलमा के के बिक्री गर्न पाइन्छ के के पाइँदैन त ?
तपाईं औषधि पसलमा जानुभयो भने औषधिमात्रै नभई खाद्य सामग्रीदेखि श्रृंगारका सामानसमेत देख्नुहुन्छ । मल्टिभिटामिन, क्याल्सियम लगायतका सप्लिमेन्ट्सदेखि दूध, तथा पौष्टिक आहारसम्म औषधि पसलमा सजिलै पाइन्छ । मन्जनदेखि पेय पदार्थसमेत बिक्री भइरहेको हुन्छ । तर, औषधि पसलबाट यी सामग्रीको बिक्री कानुनविपरीत हुन् । औषधि व्यवस्था विभागमा दर्ता नभएका यस्ता सामग्री औषधि पसलमा राख्न पाइदैन । औषधि ऐनको २०३५ को दफा १० मा औषधिको बिक्री गर्ने व्यक्तिले आफ्नो नाम र पसल वा र्फम औषधि व्यवस्था विभागमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ । र, विभागमा दर्ता भएपछि उसले विभागमा दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्नुपर्ने हुन्छ ।
‘नामै औषधि पसल भनेएकोछ भनेपछी औषधिनै बिक्री गर्ने हो त नि, यसमा त पश्र छैन । अनुमति लिन किन पर्यो भने औषधि जस्तो संवेदनशिल विषय जो कोहीले बिक्री गर्न हुँदैन, विना इजाजत बिक्री गर्न हुँदैन भनेर इजाजत लिनुपर्यो भन्या हो । अन्य चिजहरू फ्याट्ट फुट्ट तपाईंले जुन चिजहरूको कुरा गर्दै हुनुहुन्छ, त्यो प्रयाक्टिस कहिलेकाही ठाउँ हेरेर, परिस्थीतीजन्य वस्तुहरू कसैले राखेको जस्तो बच्चाको फुड दुध भनौ न, दुध चै चाहियो नागरिकले कही गएर खोज्दा सजिलै पाउँछन भन एउटा सहजताको लागी गरिएको काम मात्र हो । तर हामीले उहाँहरूलाई बिक्री अनुमती औषधिको मात्र दिएका हौं,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भन्नुभयो ।
अब प्रश्न उठ्छ-औषधि मात्र बिक्रि गर्न मिल्छ भन्ने, तर अन्य वस्तु पनि बिक्रि भइरहेको देख्दा अनुमति दिने तथा अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभाग चाँही किन चुप छ । विभागका अनुसार हाल नेपालमा ३० हजारभन्दा बढी औषधि पसल दर्ता छन् । तर मुस्किलले ३ देखि ४ हजार हाराहारीमा मात्र अनुगमन हुने गरेको छ । किन अनुगमन कम भन्दा विभाग जनशक्ति अभावको तर्क गर्छ ।
‘जनशक्ति बढाउने कुरामा कामहरू अघि बढिरहेको छ । अहिलेकै जनशक्तिले गर्न सक्ने भनेको ३ देखी ४ हजार फार्मेसी हेर्न सक्छौ साचिकै भन्दा जनशक्ति कमनै छ,’ ढकालले भन्नुभयो ।
विश्वका अन्य मुलुकमा पनि स्वास्थ्यसँग सम्बन्धित तर गैरऔषधि सामग्री औषधि पसलमा पाइन्छन् । २४ घण्टै खुला हुने भएकाले पनि यस्ता सामग्री औषधि पसलमा खरीद गर्न बिरामीलाई सजिलो हुन्छ । तर त्यहाँ औषधि पसललाई नियमन गरिएको हुन्छ । नेपालमा कानुनी व्यवस्था हेर्ने हो भने बालबालिकाहरुले प्रयोग गर्ने डाइपरदेखि सेनिटरी प्याडसमेत विभागले दर्ता गर्दैन । तर कानुनले नदिने भए पनि यस्ता सामाग्री औषधी पसलबाट बिक्री भइरहेको छ । जानकार भने यस्ता सामग्री बिक्रीको नियमनका लागि कि त सरकारले ऐन परिवर्तन गर्नुपर्ने या अनुगमन प्रभावकारी बनाउनुपर्ने बताउँछन् ।
‘अब राज्यले छिटो भन्दा छिटो कि त त्यो ल्याउने कुराहरूलाई पुरै बन्द गरिदियोस । यहाँनेर बेच्न पाइदैन भनेर छुट्याइदियोस, यो खाद्यपुरक सामाग्री औषधि व्यवस्था विभागमा दर्ता भएका बाहेकका सबै बाहिर निकाल भनेर भन्दिन सक्नुपर्यो । कि त भने यी दुइटैलाई मिलाएर साझा ऐन बनाएर यसलाईचै सहज रुपमा उपभोक्ताले पाउने वातावरण गराइदिनुपर्यो,’ वरिष्ठ फार्मासिस्ट अमृत खनालले भन्नुभयो ।
औषधि आम-स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय हो । त्यसैले औषधि पसलमा के बिक्री गर्न पाइन्छ, के पाइँदैन भनेर औषधि व्यवस्था विभाग र अन्य सामग्री दर्ता गर्ने सरकारी निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।