डेंगी प्रकोप नियन्त्रणमा सरकारी प्रयास विफल, खोप ल्याउन सधैँको आलटाल

बजेट नै नभएको बहाना
आश्विन २९, २०८१ |कृपाल गौतम
डेंगी प्रकोप नियन्त्रणमा सरकारी प्रयास विफल, खोप ल्याउन सधैँको आलटाल

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगीको संक्रमणबाट नेपालमा बर्सेनि मानिसको मृत्यु हुन्छ । गत जनवरीदेखि अहिलेसम्म डेंगी संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ । साढे १७ हजारभन्दा बढी संक्रमित भएका छन् । 

तर डेंगीविरुद्धको खोप अझै प्रयोगमा ल्याइएको छैन । धेरै मुलुकले खोप ल्याएर नागरिकलाई लगाइरहँदा नेपालमा भने प्रक्रियासमेत सुरु भएको छैन । 'लामखुट्टे खोज र नष्ट गर' अभियान चलाएर मात्र डेंगी नियन्त्रण सम्भव नभएकाले खोप नै विकल्प भएको दाबी विज्ञले गरेका छन् । डेंगीविरुद्धको खोप कति प्रभावकारी छ र नेपालमा यो ल्याउन कति सम्भव छ त ?

नेपालमा यो वर्षको जनवरीदेखि अहिलेसम्म १७ हजार ६ सय २ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमणबाटै ८ जनाको त मृत्यु नै भइसक्यो । सन् २०२२ मा ५४ हजार ७ सय ७४ जनामा संक्रमण देखिएकोमा २०२३ मा ५२ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

सन् २०२२ र २३ मा संक्रमणकै कारण १ सय ८ जनाको मृत्यु भएको थियो । बर्सेनि संक्रमण देखिनै रहेको अवस्थामा लामखुट्टेको लार्भा नष्ट गरेर मात्र नियन्त्रण प्रायः असम्भव जस्तै देखिएको छ । यसका लागि खोप नै प्रभावकारी हुने चिकित्सक बताउँछन् ।

अहिले विश्वमा डेंगीविरुद्धका प्रभावकारी खोप बन्ने क्रम जारी छ । विश्व स्वास्थ्य संगठनले दुई वटालाई मान्यता नै दिइसकेको छ । विगतमा अमेरिकी खोप डेनभ्याक्सियालाई मान्यता दिएको विश्व स्वास्थ्य संगठनले अहिले जापनिज खोप टेक जिरो जिरो थ्रीलाई पनि लगाउन अनुमति दिएको छ । अमेरिकी खोप डेंगी संक्रमण भएकालाई लगाउन मिल्ने हो भने जापानी खोप जोसुकैलाई लगाउन मिल्ने जानकार बताउँछन् ।

'समान्यतया विश्वव स्वास्थ्य संगठनको रिकमेन्डेसन ६ देखी १६ वर्ष हो,' डा. प्रभात अधिकारी भन्नुहुन्छ, 'तर जोखिम भएको एरिया छ र विभिन्न समस्याहरुले गर्दा खतरनाक डेंगी छ भने त्यो केसमा हामीले ६० वर्षसम्म पनि भ्याक्सिन लगाउन सकिन्छ र गर्भवती महिला, क्यान्सर र एचआईभी भएकाहरुलाई यो भ्याक्सिन दिन मिल्दैन किनभने यो लाइभ एटेन्डेन्ट भाइरस भ्याक्सिन हो । त्योबाहेक सामान्यतया अरु सबैलाई यो भ्याक्सिन लगाउन मिल्छ ।'

हरेक वर्ष डेंगीको प्रकोप नै फैलिने गरेको नेपालमा भने खोप ल्याउने प्रक्रिया सरकारले सुरु नै गरेको छैन । खोप ल्याउने सम्भावनाबारे छलफल हुने गरे पनि ठूलो बजेट चाहिने भएकाले सरकारले आँट गर्न नसकेको हो ।

'हामीकहाँ पनि विगत २ वर्षमा डेंगीको खोप ल्याउने कि भनेर पनि हामीले छलफल गर्यौं,' स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्नुहुन्छ, 'डेंगीको खोप पनि इन्फ्लुएन्जा जस्तो खोप जुन प्रत्येक ६-६ महिनामा लगाउनुपर्ने भएपछि त्यो त देशले धान्न सक्दैन त्यत्रो बजेट त देश सँग छैन ।'

नेपालमा डेंगीको जोखिम बढ्दो छ । सरकारले परम्परागत विधि अपनाएर डेंगी नियन्त्रणको प्रयास गरिरहे पनि संक्रमणबाट मृत्यु हुने क्रम जारी छ । यस्तोमा सरकारले बजेट अभाव भनेर पन्छिनुभन्दा विगतमा कोभिडविरुद्धको खोप ल्याउन जसरी तदारुकता देखाइएको थियो त्यसकै अनुसरण नगर्ने हो भने समस्या झन् नबढ्ला भन्न सकिँदैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।